रसुवा नाका हुँदै ३ करोड २० लाख ३४ हजार बराबरको मुढा चीनतर्फ निर्यात

काठमाण्डौँ । निर्यात खुलेको तीन महिनामै रसुवागढी नाका हुँदै चीनतर्फ करिब एक लाख थान बाँसका मुढा निर्यात भएका छन् । पुस १२ देखि चैत १५ सम्म ३ करोड २० लाख ३४ हजार बराबरको ९७ हजार ६ सय ४ वटा मुढा निर्यात भएको रसुवा भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले बताए ।

 

कोरोनाका कारण बन्द निर्यात ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ । विभिन्न कारागारमा कैदीले बनाएको मुढा संकलन गरेर व्यवसायीले चीनतर्फ निर्यात गर्दै आएका छन् । निर्यात रोकिँदा कैदीबन्दीका उत्पादन गोदाममै थन्काएर राख्नुपरेको व्यवसायी मुकुन्द पौडेलको भनाइ छ ।

 

केन्द्रीय कारागार काठमाडौं, सुनसरीको झुम्का कारागार, मकवानपुरको भीमफेदी, धादिङलगायतका कारागारबाट कैदीबन्दीले बनेको मुढा व्यवसायीले संकलन गर्छन् ।

सस्तो र बलियो भएकाले बाँसबाट बनेका मुढाको माग चीनमा बढी छ । यहाँका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीसम्म पुग्ने गरेका व्यवसायी बताउँछन् ।

विशेषगरी चाडबाडका बेला मुढाको माग धेरै हुने गरेको व्यवसायीको भनाइ छ । पाहुनालाई चिनियाँहरूले नेपाली हस्तकलाबाट बनेका सामग्री उपहार दिन्छन् । अहिले रसुवागढी नाकाबाट चीनतर्फ मूर्ति, कार्पेट, बाँसका मुढा, ह्यान्डीक्राफ्ट, तामाका सजावटलगायत वस्तु निर्यात भएका छन् । ०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात प्रभावित भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय