आजदेखि २४औँ फ्लोरा एक्स्पो सुरु
काठमाण्डौ । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित आजदेखि २४औँ फ्लोरा एक्स्पो मेला हुँदैछ । फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा काठमाण्डौको भृकुटीमण्डपमा सुरु हुन लागेको मेला आउँदो सोमवारसम्म चल्नेछ । मेलामा झण्डै ८० वटा कक्ष रहने छन् ।
प्रदर्शनीमा ४ सय ५० वटाभन्दा धेरै प्रकारका फूल बिरुवाको खरिद बिक्री हुने एसोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार मेलामा विभिन्न पुष्प नर्सरी, फार्म तथा संस्थाको सहभागिता रहनेछ ।
नर्सरी व्यवसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराएर पुरस्कृतसमेत गरिनेछ । मुख्य चाडपर्वमा केही फूल तथा माला भारतबाट ल्याउने गरिएको छ । तर अन्य समयमा प्रयोग हुने फूलमा नेपाल आत्मनिर्भर छ ।
विशेष गरी काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भएको अध्यक्ष तामाङले जानकारी दिए । नेपालमा अहिले व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदैआएको छ ।