काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन । गएको पुस १० गते नियुक्त प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा लगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन । नयाँ मन्त्रीहरूमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान एवम् रक्षा मन्त्री, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बनेका छन ।
यस्तै जसपाबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन । माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन । यसअघि भौतिक पूर्वाधार मन्त्री सम्हाल्दै आएका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र सङ्घीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन । नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन । सातौँ पटक पुनर्गठन गर्दा पनि प्रचण्ड सरकारले पूर्णता भने पाउन सकेको छैन । अझै पाँच मन्त्रालय प्रधानमन्त्रीसँग रहनेछन् । आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले चार जनाको नाम दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ ।
आजै नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज शुक्रवार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।



















