काभ्रेमा खसी–बोका चाेरी गर्ने ३ जना पक्राउ

काभ्रे । जिल्लामा खसी–बोका चोरेको आरोपमा तीनजना पक्राउ गरेको छ । प्रहरीका अनुसार चोरेर ट्याक्सीमा लैजाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ट्याक्सी चालक रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नम्बर ४ का मिलन तामाङ र सोही गाउँपालिकाका वडा नम्बर ७ का सुमन तामाङ रहेका छन् । उनीहरुलाई ईकाला प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको थियो ।
बनेपा प्रहरीले मिलन र सुमनले चोरी गरेको खसी, बोका किन्दै आएका रामेछापकै मन्थली नगरपालिका वडा नम्बर ५ घर भएका देवी बहादुर कार्कीलाई पनि पक्राउ गरेर अनुसन्धान थालेको छ ।
उनीहरु हिजो राति ३ समयमा आशापुरी स्थित सडक खण्डमा बा २ ज ४३२७ नम्बरको ट्याक्सीमाथि शंका लागि चेकजाँच गर्दा डिकिमा अन्दाजी ३० के.जि. जतीको कालो रंगको बोका लिएर काठमाण्डौ तर्फ जाँदै थिए । प्रहरीका अनुसार डिकीमा बोका फेला परेपछि प्रहरीले सोधपुछ गर्दा पनौती नगरपालिका वडा नम्बर ३ कुशादेवीबाट चोरी गरि ल्याएको खुलेको थियो ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत काभ्रेबाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले बताइएको छ ।