काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताएका छन् । शनिबार बिहान सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् ।
मेयर शाहले फोहोर नउठाइने कारण स्पष्ट उल्लेख नगरे पनि नेताहरूलाई दोष दिँदै फेसबुकमा लेखेका छन्, आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।
यसैबीच एमाले महासचिवले मेयर शाहको अभिव्यक्ति नेपाली समाजलाई चरम अराजकतातिर लैजाने प्रयास भएको संकेत गर्ने बताएका छन् । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्ने महासचिव पोखरेलको भनाइ छ ।
बन्चरेडाँडाको फोहोरको झोल कोल्पुखोलामा मिसाएको भन्दै सांसदहरूले नै मेयर शाहमाथि प्रश्न उठाएका थिए । मेयर शाहले सिसडोलको नियति बन्चरेडाँडामा हुन नदिने बताउँदै आएका थिए ।
तर धादिङको धुनबेंसी र नुवाकोटको ककनी गाउँपालिका सिमानामा सञ्चालनमा ल्याइएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवैज्ञानिक तवरबाट फोहोर विसर्जन गरिएपछि स्थानीयवासीले आवाज उठाउन थालेका हुन् । मापदण्ड प्रोटोकल्स हरु पालना नगरी जथाभावीरुपमा फोहोर विसर्जन गर्दा स्थानीयवासीले आवाज उठाउन थालेका छन् ।



















