राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धि

काठमाडौँ । राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व संकलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१ प्रतिशतले वृद्धि भएको छ ।

विभागका अनुसार गत माघमा ३० अर्ब ८० करोड, फागुनमा रु ३१ अर्ब ८० करोड र चैतमा ३४ अर्ब ८० करोड बराबरको राजस्व संकलन भएको छ । सरकारले राजस्व वृद्धिका लागि आवश्यक पहल गरिरहेको छ । पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर एक प्रतिशत बिन्दुभन्दा बढीले घटाएका छन् । निक्षेपको ब्याजदर घटाएका बैंक तथा वित्तीय संस्था कर्जाको ब्याजदर पनि क्रमशः घटाउने तयारीमा छन् ।

सरकारको खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु छ खर्ब ९५ अर्ब २३ करोड १५ लाख बराबरको राजस्व संकलन भएको छ । शुक्रबारसम्मको विवरणअनुसार सरकारले सात खर्ब ३६ अर्ब बराबरको राजस्व रकम प्राप्त गरेको छ । सो अवधिमा रु नौ खर्ब ५५ अर्ब २४ करोड ७६ लाख बराबरको खर्च गरेको छ ।

वैदेशिक मुद्राको सञ्चिति बढाउनका लागि सरकारले केही वस्तुको आयातमा रोक लगाएपछि भन्सार राजस्व संकलनमा केही दबाव परेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको आठ महिनामा कूल विदेशी सञ्चिति १४ खर्ब एक अर्ब २१ करोड बराबर पुगेको छ ।

सो अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो । यस्तै सो अवधिमा चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा छ ।

केन्द्रीय बैंकका अनुसार रु सात खर्ब ९४ अर्ब ३२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीले मात्रै सो अवधिमा रु ५४ अर्ब ७० करोड बराबरको रकम विदेश लगेका छन् । विदेश भ्रमणमा जानेले मात्रै रु ७६ अर्ब १२ करोड लगेका छन् । सरकारले यो खर्च कम गराउनेतर्फ विशेष ध्यान दिनुपर्ने जानकारहरुको भनाइ छ ।

विप्रेषणमा सुधार भएको छ, विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको छ । राजस्व संकलन पनि क्रमशःवृद्धि हुँदै गएकाले अर्थतन्त्र सुधारको दिशामा रहेको स्पष्ट हुन्छ । मुलुकको अर्थतन्त्रको पछिल्लो तस्विर हो यो ।

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वले संकट समाधानका उपाय खोज्ने क्रममा निरन्तर परामर्श गरिरहेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्यवृद्धिका कारण समस्यामा परेको छ । निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न नसक्दा विगतदेखि समस्या सिर्जना भएको उनको बुझाइ छ ।

उनले आफूले सधैँ सकारात्मक सोच मात्र राख्ने र हाम्रोजस्तो मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउन सकिने भन्दै यसका लागि सरकार निजी क्षेत्र सहयोग र सहकार्य आवश्यक रहेको धारणा राखे ।

सिफारिस

ताजा समाचार

लोकप्रिय