ढाकाकुमार श्रेष्ठको पद रिक्त

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको जानकारी संसद्लाई गराएका छन् । सभामुख घिमिरेले मंगलबारको संसद् बैठकमा रास्वपा संसदीय दलको पत्रअनुसार श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।
रास्वपाले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेकाले सांसद पद रिक्त भएको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णयबमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णय सहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद् सचिवालयमा दिएकोले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु,ु सभामुखले घिमिरेले भने ।
संसद्लाई श्रेष्ठको सांसद पद रिक्त भएकोबारे जानकारी दिँदै सभामुखले भने, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरासमेत माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।
श्रेष्ठले पार्टीको कोर टिमलाई साढे २ करोड रुपैयाँ बुझाए आफू मन्त्री बन्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको थियो । सांसदबाट निष्कासन गर्नका लागि संसद् सचिवालयमा पत्र पठाएको थियो ।