
काठमाडौँ । नेपाल बार एसोसिएसनले वैशाख १७ गतेदेखि एक हप्ताका लागि दबाबमूलक अभियान सुरु गर्ने भएको छ । एसोसिएसनले न्यायपालिकामा देखिएको विकृति र विसङ्गतिको अन्त्य, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न र प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने लगायतका माग राखी एक हप्ते अभियान सुरु गर्न थालेको हो ।
एसोसिएसनका महासचिव अधिवक्ता अन्जिता खनालले एक विज्ञप्ति जारी गर्दै वैशाख १७ गतेबाट एक हप्तासम्म प्लेकार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउने अभियानको सुरुवात गर्ने बताएकी छन् ।
उनले एसोसिएसनमा आबद्ध देशैभरका बार एकाइहरूलाई सोही बमोजिम अभियानको तयारीमा लाग्न समेत आग्रह गरेकी छन् । विज्ञप्तिमा सो अभियान सञ्चालन गर्दा सेवाग्राहीको काममा असर नपर्ने गरी सञ्चालन गर्न सबै एकाइहरूलाई सूचित गरिएको छ । एसोसिएसनले एक हप्ते अभियानका आठवटा नारा समेत तय गरेको छ ।