
नेपालमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

काठमाडौं। नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक पाँच वर्षमा गर्ने सर्वेक्षणमा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घटेको देखाएको हो ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण एनडीएचएस २०२२ को प्रारम्भिक रिपोर्टले पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या २०१६ को तुलनामा १० प्रतिशतले घटेको देखाएको छ । सन् २०१६ मा ६६ प्रतिशतले पूर्ण स्तनपान गराएका थिए भने २०२२ मा घटेर ५५ प्रतिशतमा झरेको छ ।
जनचेतनाको अभावले पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको सरोकारवाला बत्ताउँछन् । परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख लीलाविक्रम थापा नवजात शिशुको वृद्धि विकासको लागि स्तनपान आवश्यक भएपनि पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै जानु दुःखको विषय भएको बताए ।
सरकारले सन् २०३० सम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । तर आधुनिकता, सामाजिक सञ्जालको असर, आमाको दूधको विकल्पका उपलब्धता र शरीर बिग्रने डरका कारण स्तनपान गराउने महिलाको सङ्ख्या घट्दै गएको विज्ञहरूको मत छ । जसका कारण सरकारको लक्ष्य पुरा गर्न पनि चुनौती थपिएको पोषण शाखा प्रमुख थापाले बताए ।
स्तनपानको महत्त्व नबुझ्दा फर्मुला मिल्क खुवाउने प्रचलन बढ्दै गएको पाइन्छ । थापाका अनुसार जन्मनेबितिकै एक घण्टा भित्रमा स्तनपान गराउँदा १६ देखि २२ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिन्छ ।
उनी भन्छन् ” स्तनपानको अभ्यासलाई सुधार गरिएमा वातावरणलाई स्वस्थ राख्नुका साथै वार्षिक रूपमा विश्वभर आठ लाख २० हजार शिशुहरूको ज्यान जोगाउन सकिन्छ ।” बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्त्व आमाको दूधबाट प्राप्त हुने हुँदा शिशु जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउन बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुबेदीको सुझाव छ ।