
काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलका बीचमा बजेटपूर्वको छलफल, सरकारको वार्षिक नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र बजेटलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा यही वैशाख २४ गते संसद्को अधिवेशन आह्वान गरेका छन् । गठबन्धन बैठकमा संसद् अधिवेशनमा कुन कुन विषयलाई प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सबै राजनीतिक दलका बीचमा एकरुपता ल्याउनुपर्ने, सरकारमा सहभागी भएका राजनीतिक दलका बीचमा सरसल्लाह गरेर सबैको धारणा अभिव्यक्त हुने गरेर बजेटको प्राथमिकता र सिद्धान्त तोक्नुप¥र्यो भन्नेबारेमा छलफल भएको प्रमुख सचेतक लेखकले बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको सहभागिता थियो ।