
काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्गठनहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
सङ्घीय निजामती सेवा ऐनमा सरकारले आफ्ना सुझाव नसमेटेको भन्दै विभिन्न माग राखेर कर्मचारी सङ्गठनहरूले आन्दोलनको सुरु गरेका थिए ।
नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आज बिहीवार संयुक्त अपिल गर्दै वार्ता समिति बनेकाले आन्दोलनका पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको जनाएका छन् ।
नेकपा ९एमाले० सम्बद्ध नेपाल निजामती कर्मचारी सङ्गठनले भने छुट्टै विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन जारी रहेको जनाएको छ ।
सुरुमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा भने सत्तापक्ष र विपक्षी सम्बद्ध दुवै कर्मचारी ट्रेड युनियनले संयुक्त विज्ञप्ति जारी गरेका थिए । आन्दोलनरत कर्मचारीका सङ्गठनले आज सिंहदरबार प्रवेशमा कर्मचारीलाई रोक लगाउने निर्णय गरेका थिए ।