काभ्रे । जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ३,४,५ र ६ मा रहेको १५ सय घरधुरीमा झिल्लीमिली हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले केन्द्रीय विद्युत् प्रसारण लाइन शुभारम्भ गरेका हुन ।
महाभारत गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रसारण लाइन सुरु गरिएको हो । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन अघिसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सम्पर्कमा नरहेका महाभारत र खानिखोला गाउँपालिकाका सर्वसाधारण पहिलो पटक बिजुली बत्तीको उज्यालोमा बस्न पाउने भएका हुन् ।
२०७४ सालमा निर्वाचित भए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाबाट निर्वाचित जिल्लाका सांसदहरु महाभारत पु¥याएर डाँडापारिका समस्या लिपिबद्ध गरेर बुझाएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार महाभारत र खानिखोलाबासीलाई बत्तीको अँध्यारोबाट उज्यालो बनाउने अभियानमा नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ ग¥यो । रकम अपुग भएका कारण अधुरो रहेका आयोजना समापन गर्न पुनः ३० करोड रकम विनियोजन भएको जानकारी दिए । महाभारत गाउँपालिकाको वडा नम्बर ३ फोक्सिङ्गटार, वडा नम्बर ४ र ५ बुढाखानीका सबै घरमा बत्ती बल्ने गरी कार्य सम्पन्न भएको छ ।
गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदान उपलब्ध गराएको अध्यक्ष जिम्बाले बताए । उनले बाँकी रकम स्वंय घरधनीले बेहोर्ने गरी ३ वटा वडाका लागि १ हजार ५ सय घरधुरीका लागि मिटर पुगेकाले बत्ती बलेको जानकारी दिए । केन्द्रीय प्रसारण लाइन महाभारतका सबै वडामा पुगिसकेको छ ।



















