जिउँदो सहिद मुकेश कायस्थको निधन
काभ्रे । दोस्रो जनआन्दोलनका घाइते जिउँदो सहिद मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ७ : ३० बजे उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।
नेपालका अनुसार मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो ।
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।
सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा परेका थिए । ओछ्यानबाट लडेका मुकेश कहिल्यै उठेनन् । १७ वर्षदेखि उनी जीवन र मृत्युसँग लडिरहेका थिए ।
निरन्तरको स्याहार र उपचारपछि देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका मुकेश २०७५ असारमा अचानक बिरामी परेपछि पुरानै अर्धचेत अवस्थामा फर्किएका थिए । उनको उपचारमा संलग्न स्वर्गीय डा। उपेन्द्र देवकोटा र बसन्त पन्तले पनि उनमा आएको सुधारलाई ‘चमत्कार’ भनेका थिए ।
सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।
मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।