काभ्रेको सहकारी लुटपाट गर्ने चार जना पक्राउ

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं -४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न ४ जना पक्राउ परेका छन् ।
आज मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेले सामुदायिक सहकारीमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा उनीहरुलाई सार्वजनिक गरेको हो । सहकारीका सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर उनीहरुले लुटपात गरेका थिए ।
गत बैशाख १९ गते राति १ बजे सामुदायिक साकोसको मेन गेटको ताल्चा फोडेर ३२ लाख ३१ हजार ७ सय ४५ रुपैयाँ चोरी गरी उनीहरु फरार भएका थिए । चोरीमा संलग्न ६ जनामध्ये ४ जनालाई काठमाडौं र मकवानपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पक्राउ परेको चारै जना मकवानपुर जिल्लाका हुन्। उनीहरुलाई काठमाडौं र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का २४ बर्षीय अमृत थिङ (लामा), सोही ठाउँका २९ वर्षीय गम्भीर भनिने सोमलाल थिङ, वडा नम्बर ५ फाखेलका ३० बर्षीय अशोक रुम्बा र सोही ठाउँका ३५ बर्षीय अगबर लामा रहेका छन् ।
अमृत र सोमलाल काठमाडौंबाट पक्राउ परेका हुन् । अशोक र अगरलाई फाखेलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ५ लाख ४५ हजार रुपैयाँ नगद, भरुवा बन्दुक १ थान र सहकारी चोरी गर्दा प्रयोग भएका सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
उनीहरुलाई आजै जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ।