ऐतिहासिक महत्वको नर्वन्दा पाटी पुनःनिर्माण कार्यको शिलान्यास

काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको ऐतिहासिक महत्वको नर्वन्दा पाटी पुनःनिर्माणको काम शुरु भएको छ ।

नगरप्रमुख टोक बहादुर वाईबाले आज एक कार्यक्रमका बीच पाटी पुनःनिर्माण शिलान्यास गर्नुभएको हो । पाटी पुनःनिर्माणको काम पुरात्व विभागको आर्थिक सहयोगमा थालिएको छ । चालु आर्थिक वर्षमा एक तल्ले निर्माण हुनेछ । यो आर्थिक वर्षमा १५ लाख ६६ हजार ८५२ रुपैयाँ खर्च हुनेछ । अर्को आर्थिक वर्षमा पाटी पुनःनिर्माणको सम्पूर्ण काम सकिने निर्माणको जिम्मा पाएको पञ्चस्तम्भ कन्ट्रक्सन एण्ड कन्सल्टेनी प्रा.लिले जनाएको छ ।

पाटी पुनःनिर्माण शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख वाईबाले पुरात्विक तथा सार्वजिक महत्वका सम्पत्ती संरक्षण गर्ने राज्यको कर्तब्य अनुसार नै पाटी पुनःनिर्माणको काम थालिएको बताउनुभयो । ‘यो पुरात्विक महत्वको सम्पत्ती हो । संविधानले नै यस्ता संरचनाको संरक्षण गर्ने दायित्व सरकारलाई दिएको छ । यो अहिले संघीय सरकार अन्तर्गतको पुरात्व विभागले निर्माणको काम गरिरहेको छ । यो नगरपालिकाको सम्पत्ति हो । यसलाई जर्गेना गर्ने दायित्व पनि हाम्रै हो ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

नगरप्रमुख वाईबाले काम हुँदै गर्दा निर्माणको रेखदेख गर्न स्थानीयलाई आग्रह गर्नुभयो । ‘नगरपालिकाले पनि अनुगमनलाई विशेष ध्यान दिन्छ । तपाई उपभोक्ताहरुले निर्माण भैरहेकै बेला आएर हेर्नुहोस् । काम बिग्रिएपछि टिकाटिप्पणी गर्नुभन्दा हुँदै गर्दा कमीकमजोरी औल्याउन सक्यौँ भने राम्रो हुन्छ । सुधार गर्न सजिलो हुन्छ । त्यो बेला यो पाटी निर्माण गरेर महत्वपूर्ण भूमिका लेख्ने नेपाल वंशका चेली नर्वन्दाको भौतिक शरीर हामी माझ नभएपनि सम्मान गर्नुपर्छ ।’ मेयर वाईबाको भनाइ छ ।

नगरउप्रमुख विष्णुमणी नेपालले निर्माण कम्पनीलाई गुणरस्तीय काम गर्न निर्देशन दिनुभयो । ‘यो ऐतिहासिक पाटी हो । यसको निर्माणमा कोही कसैले खेलाची नगरौँ । हामी सबैले प्राविधिक स्टामिट अनुसार निर्माणको काम भैरहेको छ की छैन भनेर हेरौँ । यो पुरात्व महत्वको संरचना हो । भावी पुस्ताका लागि समेत यो पाटी एउटा चिनारीका रुपमा हामीले संरक्षण गरेर राख्नुपर्दछ ।’ उपप्रमुख नेपालले भन्नुभयो । उहाँले बनेका संरचनाको रेखदेख र संरक्षणमा ख्याल गर्न स्थानीयलाई अनुरोध गर्नुभयो ।

वडा अध्यक्ष सिताराम श्रेष्ठले पाटी निर्माणपछि ब्यवस्थित ढंगले सञ्चालन गर्न छुट्टै समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षासेवी रामहरि नेपाल, कार्यपालिका सदस्य मैया तिवारी र सविना बिसुन्के, वडा सदस्य टेक बहादुर तामाङ र विष्णु प्रसाद नेपाल सहित स्थानीय शिक्षक, समाजसेवी तथा उपभोक्ता उपस्थिति थिए ।

यो पाटी नेपाल बंशकी नर्वन्दा नाम गरेकी चेलीले निर्माण गरेको किम्बदन्ती पाइन्छ । यो पाटी कति वर्ष अघि निर्माण गरिएको थियो भन्ने यथार्थ मिती नभेटिएपनि कम्तीमा दुई सय वर्षभन्दा बढी भैसकेको बताइएको छ । २०७२ सालको भुकम्पकारण यो पाटी थप जीर्ण बनेको थियो ।

नगरपालिकाले जीर्ण रहेको विभिन्न मठमन्दिर तथा पाटी पुनःनिर्माणका लागि पुरात्व विभागमा प्रस्तावना बुझाइसकेको छ । बालुवा पाटी, रायोबारीको पाटीको पुनःनिर्माणका लागि पुरात्व विभागमा प्रस्तावना पेश गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस