बिहिबार, जेठ ०७, २०८३
केयूमा १ हजार २ सय ४० विद्यार्थी दीक्षित

काभ्रे । काठमाडौँ विश्वविद्यालयको २८ औ दीक्षान्त समारोहको दोस्रो चरणको दीक्षान्त समारोहमा १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षान्त समारोहमा भारत, बेनिन, श्रीलंका र अमेरिका गरी ४ देशका विदेशी विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा पिएचडी ९ जना, एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ जना र स्नातक तहका १ हजार ९२ गरी १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेहरु मध्ये आर्टसमा ३५, एजुकेसन ५७, इन्जिनियरिङका ३ सय ६५, लका १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साईन्सेजका ५ सय ६५ जना र साइन्सका १ सय ६७ विद्यार्थी छन् ।

विश्वविद्यालयको इतिहासमा पहिलो पटक स्कुल अफ इन्जिनियरिङका ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरेको छ । केयूले स्थापनाको ३२ वर्षमा विभिन्न संकायमा ४१ हजारभन्दा बढी उच्चशिक्षाको विद्यार्थी उत्पादन गरेको जनाएको छ । तीमध्ये ५५ देशका ५ हजार १ सय १२ जना बिदेशी विद्यार्थी रहेका छन् । अघिल्लो वर्षको तुलनामा कोभिड लगायतका कारण विदेशी विद्यार्थीको संख्या घटेको विश्वविद्यालयले जनाएको छ ।

दीक्षान्त समारोहमा चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा स्कुल अफ एजुकेसनका सिद्धार्थ रजकले पाएका छन् । भाईस चान्सलर स्वर्णपदक स्नातक तहमा स्कुल अफ एजुकेसनकी सञ्चिता केसीले पाएकी छन् ।

त्यस्तै जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक एमबिए तहबाट स्कुल अफ म्यानेजमेन्टकी प्रश्न भट्टराईले, रणबहादुर शाह स्वर्णपदक एमबिए तहमा स्कुल अफ म्यानेजमेन्टकी आयुस्मा पोखरेलले प्राप्त गरेकी छन् । दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मुम्वई विश्वविद्यालय लगायतका विभिन्न विश्वविद्यालयका पुर्व उपकुलपति र हाल एटलास स्किलटिच विश्वविद्यालय मुम्बईका उपकुलपति प्रो.डा राजन बेल्लुकर लगायतको उपस्थिती रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय