बेथानचोक-१ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकका अध्यक्ष भगवान अधिकारीले शिक्षा जीवनको अनिवार्य शर्त भएको बताए । बेथानचोक गाउँपालिका वडा नं. १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले समग्र समाजको उन्नति र खुसी शिक्षाले मात्र दिन सक्ने र शिक्षाले नै देश सुसंस्कृत, शान्त र समृद्ध बन्ने भएकाले शिक्षामा लगानी आवश्यक रहेको बताए ।

राज्यले नीतिगत रुपमा विद्यालयस्तरको शिक्षालाई अनिवार्य गरेकोले यसलाई मुर्त रुप दिन आफूहरु लागि परेको र शिक्षा निःशुल्क नै हुने रहेछ भन्ने आम नागरिकमा अनुभुति दिलाउन अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयनमा गाउँपालिकाले दत्तचित्त भएर कार्य गरेको बताए । उनले शैक्षिक क्षेत्रमा लगानी भएन भने स्थानीय सरकारले आफ्नो सामथ्र्यको विकास गर्न नसक्ने कुरा औल्याए । उनले भने, “सामथ्र्य भएन भने समृद्घिको सपना पनि साकार हुन निक्कै कठिन हुन्छ।” अध्यक्ष अधिकारीले कुनै पनि भूगोलको शिक्षामा आमूल परिवर्तन ल्याउन बालबालिका, शिक्षक, अभिभावक, स्थानीय समुदायको सक्रिय सहभागिता र स्थानीय सरकारको उत्तरदायीपूर्ण भूमिका आवश्यक रहेको बताए ।

उहाँले राज्यको माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा आएकोले जनप्रतिनिधिहरुले शिक्षासम्बन्धी विभिन्न नीति, कार्यक्रम सार्वजनिक गरे पनि ती नीति र कार्यक्रम कार्यान्वयनको लागि भने बजेटकै अभाव नै हुने गरे पनि शिक्षाका लागि आर्थिक स्रोत कसरी जुटाउने, स्रोत पहिचान कसरी गर्ने र पहिचान भएका स्रोतको परिचालन कसरी गर्ने भन्ने विषयमा आफूहरु जिम्मेवार भएर लागेको बताए । स्तरीय शिक्षा दिन सके गाउँमै विकासका नयाँ आयाम थपिने हुँदा सामुदायिक विद्यालयका शिक्षकहरुले शिक्षण सिकाइलाई समय सापेक्ष गराउँदै लैजान आवश्यक रहेको बताए ।

कार्यक्रममा बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेका र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने प्रावधान अनुरुप नेपाल सरकारले १९ असोज २०७७ मा ‘अनिवार्य र निःशुल्क शिक्षा सम्बन्धी नियमावली–२०७७’ लागू गरेको बताए । शाखा प्रमुख राईले सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक वापतको रकम यी शीर्षकमा कुनै पनि शुल्क लिनु हुँदैन’ भनेको स्मरण गाराउँदै सोही अनुरुप गाउँपालिका भित्रका विद्यालयहरुलाई शुल्न नलिन आग्रह गरे । उनले गाउँपालिकाका सबै वडाहरु अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भइसकेकाले अब गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिने पनि बताए ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले वडालाई अनिवार्य तथा निःशुल्क वडा कार्यान्वयन घोषणाका लागि प्रस्ताव गरेका थिए । प्रस्ताव पत्रमा भनिएको छः “काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका १ नं. वडा कार्यालयमार्फत मिति २०८० जेष्ठ १५ देखि १९ गतेसम्म दुई सय अठासी घरधुरीमा बालबालिकाको विवरण संकलन गर्दा प्रचलित कानून अनुसार चार वर्ष पूरा भइ तेह्र वर्ष उमेर पूरा नभएका १ जना बालक विद्यालय बाहिर रहेको पाइएको र उहाँलाई श्री चक्रेश्वर मा.वि. मा भर्ना गरिएकोले मिति २०८० जेष्ठ २१ गते आइतबार बसेको वडा समितिको निर्णयानुसार आज मिति २०८० साल आषाढ ३ गते आइतबारका दिन अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न बेथानचोक गाउँपालिका अध्यक्ष श्री भगवान अधिकारीज्यू समक्ष प्रस्ताव पेश गर्दछु ।”
कार्यक्रममा जनप्रतिनिधि, वडा भित्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, दलीय प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस