सोमबार, बैशाख ०७, २०८३
आर्मीको टोली फुटबल खेल्न भारततर्फ

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत गएको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो ।

फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत् शनिबार त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १७ गतेसम्म चल्ने छ। उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गरेका थिए।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा भाग लिने टोलीलाई सेनाले उच्च अनुशासन कायम गरी उत्कृष्ट खेल प्रदर्शन गर्न निर्देशन दिएको छ। प्रतियोगितामा प्राप्त अनुभवबाट आगामी दिनमा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि मद्दत पुग्ने सेनाको विश्वास छ।

यस्ता प्रतियोगिताले २ देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन तथा दुवै संगठनबीच मित्रता र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन योगदान पुग्ने पनि सेनाले विश्वास लिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय