काभ्रे । विद्यालयको कोठाभित्रै यौन दुर्ब्यवहारको आरोप लागेका पनौती नगरपालिका वडा नम्बर २ मा रहेको कुशादेवी माध्यामिक विद्यालयका शिक्षक छवि गौतम विरद्ध किटानी जाहेरी दर्ता भएको छ ।
विद्यालयका ११ जना छात्राले ईलाका प्रहरी कार्यालय बनेपामा पुगेर किटानी जाहेरी दिएका ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहरा जानकारी दिए । उनका अनुसार जाहेरी दर्ता भएर आवश्यक प्रक्रिया अघि बढिसकेको बताए ।
कुशादेवी माविमा गणित विषय पठाउने गौतमले पटक-पटक छात्रामाथि यौन दुब्र्यवहार गर्दै आएको पाइएको छ । यसअघि पनि उनलाई यस्तै प्रकृतिको घटनामा माफी माग्न लगाएर विद्यालय ब्यवस्थापन समितिले उन्मुक्ति दिएको थियो ।
गौतम यो विद्यालयमा झण्डै ६/७ वर्षदेखि अध्यापन गराउँदै आएका थिए । विद्यालयका प्रधानाध्यापक, वि.ब्य.स.का पदाधिकारी सहितको रोहबरमा किटानी जाहेरी प्रहरीले दर्ता गरेको हो । ११ जना छात्राले किटानी जाहेरी दिएका छन्, दर्ता भएर आवश्यक प्रक्रिया अघि बढिसकेको डिएसपी बोहरा जानकारी दिए ।
आरोप पुष्टि भए बाल यौन दुब्र्यवहार अन्तर्गत फौजदारी अभियोगमा गौतमले सजाय ब्यवहोर्ने छन् । कक्षा १० मा पढ्ने छात्राहरुले गत शुक्रबार नै वि.ब्य.स.मा शिक्षक गौतमले यौन दुब्र्यवहार गरेको भन्दै निवेदन दिएको थिए । सोही निवेदनका आधारमा वि.ब्य.स.को आकस्मिक बैठकले गौतमलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएपछि हाजिर नगराउने निर्णय गरिएको थियो ।
पनौती गनरपालिकाले आवश्यक कारबाहीका लागि प्रशासनलाई पत्र पठाएको थियो । आरोपित शिक्षक गौतमलाई जोगाउन विभिन्न प्रयास भएका थिए । तर कारबाहीका लागि चौतर्फी दबाब सिर्जना भएपछि प्रहरीले बिना जाहेरी नै पनि सुक्ष्म अध्ययन थालिसकेको थियो ।




















