सोमबार, बैशाख ०७, २०८३
एकलवादी सोचको नयाँ संस्करण

उनीहरूले घोषणा गरेका थिए, अधिवक्ता पाण्डेलाई गिरफ्तार गराउन दबाबस्वरूप एक घन्टे शान्तिपूर्ण धर्ना कार्यक्रम । साउन १७ गते आह्वान गरिएको धर्ना कार्यक्रममा सहभागी हुन तामाङ, मगरलगायतका विभिन्न सङ्घ संस्थाका सहभागीहरू टेकुुमा पुगे । प्लेकार्ड, व्यानर प्रदर्शन गरे । नारा लगाए । सहभागीको सङ्ख्या थपिँदै गयो । नारा चर्किँदै गयो । स्वाभाविकरूपमा यातायात आवागमनमा अवरोध सिर्जना भयो । प्रहरीलाई भीड तितरबितर गर्ने वहाना मिलि हाल्यो । ठेलमठेल हुँदै जाँदा प्रहरीले लाठी चार्ज गर्यो । अश्रुँग्याँस प्रहार गर्यो । भटाभट सहभागीहरूलाई पक्रेर कोच्ने बहादुरी देखाउन प्रहरीहरू प्रतिस्पर्धा नै गर्न थाले । कतिपय पत्रकारहरूलाई समेत बाँकी राखेनन् । कतिको टाउको फुट्यो । कतिको खुट्टाको हड्डी भाँचियो । कतिको पिँडौलाको मासु फुट्यो । समातिनेहरूको शरीरभरि प्रहरीले लाठी वर्षाए । लाठी प्रहार गर्न नपाएको लामो समयदेखिको प्यास मेटाउन उद्यत झैं देखिए । भीड लाखापाखा लागिसकेको थियो । केहीबेरमा परपर सडकपेटीमा बसिरहेका र गन्तव्यमा फर्कन पाइला बढाइसकेकाहरूलाई समेत प्रहरीले जबर्जस्ती पक्रेर लगे ।

पक्रेर महानगरीय प्रहरी परिसरभित्र थुनिसकेपछि पनि प्रहरी क्रुररूपमा प्रस्तुत भए । कुनै युद्ध अपराधीलाई झैं बर्बर यातना दिए । अपशब्द प्रयोग गर्दै गालीको वर्षा गराए । त्यतिखेर प्रहरीले गरेको दुव्यर्वहार र दिएको पीडासहित दृष्य वर्णन गर्दा शुक्रबार आयोजना गरिएको कार्यक्रममा धेरैको आँखा नै रसाए । थुनामा परेर घाइते भएकाहरूले एकस्वरमा भने, ‘हातहतियारसहित युद्धको होमिएको लडाकुु या कुनै व्यवस्था विरोधी विद्रोहीलाई जस्तै प्रहरीले दुुव्र्यवहार ग¥यो ।’ अधिवक्ता भगवती पाण्डे (शीतल) को विवादास्पद अभिव्यक्तिबाट मर्माहत समुदायले न्यायको बदला प्रहरी दमन र यातना भोग्नुपर्यो ।

अधिवक्ता पाण्डेको विवादास्पद अभिव्यक्ति प्रकरण कुन रूपमा टुङ्गिने हो, हेर्न बाँकी छ । तर यसले सिर्जना गरेको पराकम्पन अझै थामिएको छैन । यसले उत्पन्न गरेको हलचल सामाजिक सन्जाल र विभिन्न मिडियाहरूमा अझै प्रतिविम्बित भइरहेकै छ । साउन ६ गते प्राइम टिभीको ‘चिया गफ’ नामको कार्यक्रममा उनले आधारहीन र तथ्यहीन अभिव्यक्ति दिएपछि तामाङ र मगर समुदाय यत्तिखेर आक्रोसित थिए । प्रहरी प्रशासनबाट भएको ज्यादतिले उनीहरूमा थप आक्रोस पैदा गरेको छ ।

‘नेपालका तामाङ र मगर समुदायमा आफ्नै दाजुबहिनीबीच विवाह हुन्छ । यसरी आफ्नै जिनबीच विवाह भएर जन्मेका बालबालिकाहरू आपराधिक प्रवृत्तिका हुन्छन् ।’ अन्तर्वार्तामा अधिवक्ता पाण्डेले बोलेका शब्दहरू यिनै हुन् । आफ्नै दाजुबहिनीबीच विवाह हुन्छ भन्ने भनाइ कुनै सत्यतामा आधारित थिएन । सार्वजनिक मिडियामा प्रस्तुत पाण्डेको तथ्यहीन वक्तव्य तामाङ र मगर समुदायलाई मुटुमै सुई रोपेसरह थियो । यसैले उनीहरूले यस्तो अभिव्यक्तिलाई अविलम्ब ठाडै अस्वीकार गरे । विभिन्न हिसाबले आपत्ति जनाए । अधिवक्ता पाण्डेले तत्क्षण आफ्नो धारणा सच्याउनुपर्ने, फिर्ता लिनुपर्ने र लिखित माफी माग्नुपर्ने माग अघि सारे ।

उनको अभिव्यक्ति कुनै पनि हालतमा स्वीकार्य थिएन । समुदायको स्वाभिमानमाथि नै आँच पुर्याउने तहकै थियो । हुँदैनभएको संस्कारको व्याख्या गर्दै सिङ्गो समुदायलाई नै आपराधिक प्रवृत्तिको करार गर्ने उनको अभिव्यक्ति घोर आपत्तिजनक र खेदजनक नै छ । यसले नेपालका तामाङ र मगर समुदायको आत्मस्वाभिमान र प्रतिष्ठामाथि चुनौती खडा गरिदियो । अधिवक्ता पाण्डेको अभिव्यक्तिले उनीहरूलाई नराम्रोसँग चोट पु¥यायो । यो चोटले उनीहरूको मुटु नै दुख्यो ।

तामाङ समुदायको आफ्नै खालको विशिष्ट वैवाहिक परम्परा छ । तामाङ समाजमा दुई खालको थरको व्यवस्था छ ः सगोत्री (स्वाँगे) थर र कुटुम्बेरी थर । जतिसुकै पुस्ता फरक भएपनि, जतिसुकै परको भएपनि सगोत्रीभित्र बिहेबारी पूर्णरूपमा बन्देज हुन्छ । एउटै थर या एउटै स्वाँगे समूहभित्रका भएमा सात समुद्र परको भएपनि माइती चेलीकै नाता, सम्बोधन र व्यवहार हुन्छ । यसकारण तामाङ समुदायमा एउटै थरभित्र मात्र नभएर कतिपय फरक थरबीच पनि बिहेबारी चल्दैन । विवाहपछि चेलीको थर परिवर्तन हुँदैन । उनी जीवनभर माइतीकै थरसहितको परिचयले बाँच्न पाउँछिन् । तर उनका सन्तानहरू भने पिताको थरबाट चिनिन्छन् । तामाङ समाजको संस्कारले उनीहरूलाई बिहेबारी चलाउन मिल्ने कुटुम्ब थरका रूपमा परिभाषित गरेको छ ।

माइती र चेलीका सन्तानहरू कुटुम्बेरी थरका रूपमा तामाङ समाजको संस्कारले स्वीकारेको छ । मामा चेला फूपूचेला बीच वैवाहिक सम्बन्ध गाँस्ने परम्परा सदियौंदेखि चलिआएको छ । अहिले उनीहरूको सम्बन्धलाई दाजुभाइको रूपमा लिनुपर्छ, विवाह गर्ने संस्कारलाई बहिष्कार गर्नुपर्छ भन्ने सोच क्रमशः सतहमा आइरहेको देखिन्छ । यो पनि हिन्दू संस्कार र दृष्टिकोणकै प्रभाव हो । तामाङ बुहारीहरूले सासुलाई ‘आमा’ (कतै कतै त आफ्नै थरकीलाई समेत), ससुरालाई बुबा, ससुराको दाईलाई ठूलाबुबा र भाइलाई काका, मामाका छोराका श्रीमतीलाई भाउजु र बुहारी सम्बोधन गर्नु हिन्दू संस्कारका प्रभावका केही उदाहरण हुन् ।

खासमा वैवाहिक संस्कारमा कायम विधिले तामाङ समाजमा थर व्यवस्थापन प्रणाली जोगिँदै आएको छ । अनि थरसम्बन्धी व्यवस्थापनले तामाङ समुदायको पृथक संस्कृति स्थापित गरिआएको छ । यो उनीहरूको मौलिक परम्परा हो । यस खालको वैवाहिक मान्यतालाई तामाङ समाजले पुस्तौंदेखि जोगाउँदै ल्याएको छ ।

संस्कारगत मूल्य मान्यतालाई परिमार्जन गर्ने नगर्ने जिम्मा तामाङ समुदायकै हो । अन्य समुदायका कोही कसैले आफ्नो संस्कारसँग दाँजेर यस्तो उस्तो टिप्पणी गर्दै परिवर्तनका लागि प्रस्ताव राख्नु पूर्णरूपमा हस्तक्षेपबाहेक केही होइन । त्यसो त हिन्दू एकलवादी सोच चिन्तनको प्रभाव सबैतिर देखिएकै छ । अधिवक्ता पाण्डे त एकजना प्रतिनिधि पात्र मात्र हुन् । यसकारण उनको अभिव्यक्ति पनि एकलवादी सोचको नयाँ संस्करण मात्रै हो ।

दाजुबहिनीबीच विवाह हुने उनको अभिव्यक्ति थियो । यद्यपिउनले आफूले फुपूचेली मामाचेला बीचको सन्तानलाई दाजुबहिनी मान्ने भएकाले अन्तर्वार्ताका क्रममा केही शब्द छुटेको प्रस्टीकरण दिएकी छिन् । ल भैगो, यसलाई पनि ठूलो ईस्यू नबनाउँ रे । तर उनले त्योभन्दा पनि अझ डरलाग्दो आशय व्यक्त गरेकी थिइन् । एउटै जिन,रगतबाट जन्मी हुर्केका व्यक्तिहरू खतरनाक हुने, आपराधिक प्रवृत्तिका हुने, अरूको कुरा नसुन्ने र एकोहोरो प्रवृत्तिका हुने उद्घोष गरेकी छिन् ।

उनको भनाइ सरासर पत्याउने हो भने त नेपालका तामाङ र मगर समुदाय आपराधिक मूलका भए । नेपालमा हुने कतिपय अपराध र अपराधीको जरा यी समुदायभित्रबाट पलाएको हुने भयो । यति गम्भीर, आपत्तिजनक शब्दहरू बोलेर पनि यो विषयलाई उनले हलुका हिसाबले लिएको देखिन्छ । शब्दमा कुनै पनि जातीय सद्भाव भड्काउने आफ्नो आशय नभएको उनले जिकिर गरेपनि उनको भनाइको सार भने ठीक उल्टो थियो ।

उनी सामान्य नागरिक होइनन् । उनले नै दाबी गरेजस्तै १० वर्षभन्दा बढी कानुनी क्षेत्रमा वकालत गरिसकेकी स्थापित अधिवक्ता हुन् । जसलाई कानुनका जरा र फेदहरूबारे राम्रो हेक्का हुन्छ । फेरि उनले दुई चारजनाको बीचमा आफ्नो धारणा राखेकी पनि होइनन् । राज्यको एउटा स्थापित मिडियामा खुल्लमखुल्ला निर्धक्क बोलेकी हुन् । जसको प्रभाव क्षणभरमा संसारभर फैलिन्छ ।अध्येता, अनुसन्धानकर्ता दाबी गर्दै थाहै नभएको विषयमा बोलेको देखिन्छ ।

अझ मुलुकी अपराध(संहिता) ऐनलाई समेत आफ्नो जातिअनुकूल हुने गरी सच्याउनुपर्ने, फूपूचेलामामाचेलाबीचको वैवाहिक सम्बन्धलाई बन्देज लगाएर हाडनाता करणी अपराधको दायरामा ल्याउनुपर्नेसम्मको उनको आग्रह देखिन्छ । मुलुककै कानुनलाई एउटा जाति समुदायको संस्कारमा नीहित दृष्टिकोण र दर्शनमा सीमित पारी व्यवस्था गर्ने र सोहीबमोजिम अन्य समुदायको संस्कार र परम्परालाई छाँटकाँट गर्नुपर्ने सोच निरङ्कुश दमनकारी सोच हो । यो त एकल जातीय अहङ्कार हो । यस खालको अभिव्यक्ति र आशय व्यक्त गर्नु अन्य समुदायप्रति सरासर अपमान हो । उनीहरूलाईचिढ्याउने कार्य हो ।

यसलाई सानातिना असावधानी मान्न सकिने स्थिति थिएन । सचेत तामाङ र मगर समुदायलाई सह्य हुने प्रसङ्ग थिएन । उनीहरूले विभिन्न तवरले आपत्ति जनाए ।सुरुमा पाण्डेले भनाइ फिर्ता लिएर लिखित माफी माग्नुपर्ने उनीहरूको सामान्य माग थियो । उनले विभिन्न विद्वानहरूको हवाला दिँदै आफ्नो भनाइलाई पुष्टि गर्ने प्रयत्न गरिरहिन् ।भएको गल्तीलाई समयमा सच्याउने तत्परता देखिएन । त्यसपछि तामाङ मगर समुदाय कानुनीरूपमा न्यायका लागि अग्रसर भए र टेकु प्रहरीमा जाहेरी बुझाए ।

प्रशासनबाट पनि आलटाल भइरहेको प्रस्ट देखिएपछि उनीहरू अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ गरी कारबाही गर्न दबाबस्वरुप प्रदर्शनमा उत्रन बाध्य भए । तर प्रहरी प्रशासनले शान्तिपूर्ण धर्नामा उत्रिएका उनीहरूलाई पक्राउ गरी बर्बर यातना दिएर स्थितिलाई थप उत्तेजित बनाउने काम गर्यो । न्यायका लागि ढोका घच्घच्याउन पुगेकाहरूमाथि उल्टै ज्यादति भयो । अधिवक्ता पाण्डे पक्राउ परेको भनियो । एकाध घण्टा सोधपुछ गरेपछि थुनामा राख्न अदालतले अनुमति नदिएको भन्दै छाडियो । यसबाट फेरि पनि तामाङ मगर समुदाय आक्रोशित छन् ।

‘सैयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली’, ‘बहुल जाति भाषा, धर्म, संस्कृति छन् विशाल’ हाम्रो राष्ट्रगानका यी पङ्ति र शब्दहरू गाउन मात्र हैन, त्यसमा निहीत भाव र मर्मलाई आत्मसात गरी व्यवहारमा उतार्न हामीले स्वीकारेका हौं । विविधतायुक्त नेपाली समाजमा विद्यमान फरक संस्कृति, फरक भाषा, फरक धर्म, फरक जीवनशैलीलाई स्वीकार्न र सम्मान गर्न सक्दा मात्रै समग्र नेपाली संस्कृति र नेपालीपनको विशिष्टता कायम रहनेछ ।

फेरि कुनै कुनाबाट प्रचार गरिएको देखिन्छ, ‘तामाङ र मगर समुदाय जातीय द्वन्द्व निम्त्याउन उद्यत भए । तिललाई पहाड बनाउने कसरतमा लागे ।’ सिङ्गै समुदायलाई ‘आपराधिक प्रवृत्ति’को संज्ञा दिने अभिव्यक्तिलाई सामान्यरूपमा लिइदिनु पर्ने हो र ?आफ्नो सभ्यता र संस्कृतिमाथि नै आँच पुुग्ने अभिव्यक्ति आउँदा पनि प्रतिक्रियाविहीन मुर्दा बनिरहनुपर्ने हो र ? अझै पनि तामाङ मगर समुदायको माग छ, निज पाण्डेलाई विवादास्पद अभिव्यक्ति दिएवापत कानुनीरूपमा जे जति कारवाही गर्न मिल्छ सोहीबमोजिम गर्नू । यत्ति माग गर्दा, मुद्दा दर्ता हुँदा पनि बेखबर झैं बसेका प्रहरी प्रशासनलाई घच्घच्याउँदा उपद्रो भयो ? आफ्नो अभिव्यक्ति सच्याउन अधिवक्ता पाण्डे पटक्कै तयार नहुनु, यत्तिका दिन बित्दा पनि कारवाहीका लागि प्रशासनिक तदारुकता नदेखिनु, उल्टै पीडित समुदायमाथि हिंस्रक ढङ्गले प्रहरीहरू उच्च मनोबलका साथ उत्रनुु र उतार्नुले राज्य प्रशासनमाथि नै अनेक प्रश्नहरू उठ्न थालेका छन् ।

परिस्थिति अझै भड्किएको छैन । न्यायप्रशासनप्रतिको विश्वास र भरोसा टुटिसकेको छैन । न्यायप्रतिको विश्वास भत्क्यो भने त्यसले निम्त्याउने विध्वंश कस्तो हुन्छ भन्ने दृष्टान्त सबैलाई थाहै छ । कुनै पनि वहानामा विलम्ब नगरी अधिवक्ता पाण्डेलाई न्यायको कठघरामा उभ्याएर आवश्यक प्रक्रिया अघि बढाउँदा नै सबैका लागि श्रेयस्कर हुनेछ । भनिरहनु पर्दैन, ढिला गरी न्याय दिनु पनि न्याय नदिनु सरह हो ।

यो प्रकरणलाई केही समुदायको, केही व्यक्ति र संस्थाको मात्र सरोकारको विषयका रूपमा लिने र नजरअन्दाज गर्ने गल्ती कतैबाट हुनुहुन्न । यसलाई बेवास्ता गरी ढाकछोप गर्दा चोट पुगेको समुदायलाई थप चिढ्याउने र उत्तेजित पार्ने काम मात्र हुनेछ । यो घटनाले प्रस्ट पारेको छ, नेपालका आदिवासी जनजातिप्रतिको सोच र दृष्टिकोणमा अपेक्षित परिवर्तन देखिन सकेको छैन । समाजमा भगवती पाण्डेको जस्तै सोच र धारणा बोक्नेहरूको जमात अझै ठूलै छ ।

यस्तो जमातको आकार घटाउनेतर्फ सबैको प्रयास केन्द्रित हुनुपर्नेमा त्यसलाई मलजल गर्ने हर्कत देखिनु कसैका लागि प्रिय र हितकर हुने छैन । यो जातीय सद्भाव भड्काउने आधार बन्न सक्छ । जातीय सद्भाव कायम राख्ने ठेक्का एकाध समुदायको मात्रै हैन । समाजका सबै पक्ष यो विषयमा गम्भीर हुनु आवश्यक छ । सबैको एउटै चिन्ता हो, सानो झिल्कोले सिङ्गो जङ्गल सखाप पार्न सक्छ । चिया गफले समाजका सबै अङ्गहरू खल्बलिने गरी तुफान ननिम्तियोस् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय