शिशिर भण्डारी
भूमिका:
नेपाल अहिले केवल राजनीतिक संक्रमणको चरणमा मात्रै छैन; ऊ गहिरो मनोवैज्ञानिक उथलपुथलको दौडबाट गुज्रिरहेको छ । पुराना दलहरूको भ्रष्टाचार, भागबण्डा, सत्ता–लोभ र असफल शासनले जनतामा यस्तो वितृष्णा जन्मायो कि उनीहरू “सुधार” होइन, “विस्फोट” खोज्न थाले । यही आक्रोशको जगमा रास्वपा, रवि लामिछाने, बालेन शाहजस्ता नयाँ शक्तिहरू उदाए । तर यहाँ सबैभन्दा महत्वपूर्ण प्रश्न के हो भने— के यो वास्तवमै वैचारिक जागरण थियो, कि केवल पुरानाप्रतिको घृणाको विस्फोट ?
किनकि धेरै ठाउँमा देखिएको समर्थन “विश्वास” भन्दा बढी “अस्वीकार” बाट जन्मिएको देखिन्छ ।
आज नेपालको राजनीति यस्तो मोडमा पुगेको छ जहाँ आलोचना गर्नासाथ “झोले”, प्रश्न उठाउनासाथ “दलाल” र असहमति राख्नासाथ “देशद्रोही” को आरोप लाग्ने वातावरण बनिरहेको छ । सामाजिक सञ्जालले तर्कभन्दा उत्तेजना, विचारभन्दा भीड र विवेकभन्दा ट्रेन्डलाई शक्तिशाली बनाइरहेको छ । लोकतन्त्रको नाममा भीडतन्त्र, वैकल्पिक राजनीतिको नाममा नैतिक अहंकार र परिवर्तनको नाममा संस्थामाथिको आक्रोश बढ्दो छ ।
सबैभन्दा विडम्बनापूर्ण कुरा के भने— पुराना दलहरूको घमण्ड र विकृतिविरुद्ध जन्मिएका नयाँ शक्तिहरू आफैँ क्रमशः असहिष्णुता, उग्रता र राजनीतिक अपरिपक्वताको शिकार बन्दै गएका छन् ।
यो लेख कुनै दलविशेषको अन्धविरोध वा पुराना दलहरूको बचाउ होइन । यो नेपालको वर्तमान राजनीतिक मनोविज्ञान, रास्वपाको उदय, भीडको उन्माद, सामाजिक सञ्जालको प्रभाव र वैकल्पिक राजनीतिको सम्भावित भविष्यबारे गरिएको एउटा तिखो र असहज विश्लेषण हो । किनकि कहिलेकाहीँ समाजलाई सान्त्वना होइन, ऐना चाहिन्छ ।
वितृष्णाको विस्फोटमा रास्वपाको जन्म:
नेपालको पछिल्लो राजनीतिक उभार केवल चुनावी परिणाम होइन; यो लामो समयदेखि थुप्रिएको सामाजिक वितृष्णाको विस्फोट हो । पुराना दलहरूप्रतिको घृणा, भ्रष्टाचारप्रतिको आक्रोश, कमजोर सेवा प्रवाह, दलाल पुँजीवाद, अवसरको असमानता, युवापुस्ताको पलायन, राज्य संयन्त्रको सुस्तता र राजनीतिक संरक्षणवादले समाजमा एउटा यस्तो मनोविज्ञान निर्माण गर्यो, जहाँ जनताले “कसलाई जिताउने” भन्दा पहिले “कसलाई हराउने” निर्णय गरे । यही खाली ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ जस्ता नयाँ पात्रहरू उदाए ।
जनताले वैकल्पिक शक्ति खोजे, किनकि पुराना शक्तिहरूले जनताका आशा मारेका थिए । तर यहाँ सबैभन्दा ठूलो सत्य के हो भने— यो समर्थन रास्वपालनई “विश्वास” बाट भन्दा बढी पुराना दललाई “अस्वीकार” बाट जन्मिएको हो । अर्थात उनीहरूले “पुराना दल हटाउन”, “नयाँ अनुहार ल्याउन” क्रोध व्यक्त गरेका थिए ।
राजनीतिक विज्ञानमा यसलाई Negative Mandate अर्थात् “नकारात्मक जनादेश” भनिन्छ । जनताले रास्वपालाई देश चलाउन सक्षम देखेर भन्दा पनि पुराना दललाई धक्का दिन मत दिएका हुन् । यही कारणले अहिले रास्वपाका केही नेता, कार्यकर्ता र समर्थकहरू “जनताले हाम्रो घोषणापत्र अनुमोदन गरिसके” भन्ने जुन उन्मादमा छन्, त्यो वास्तवमा राजनीतिक अपरिपक्वताको नमुना हो ।
वास्तविकता के हो भने— धेरै मतदातालाई घोषणापत्रमा के थियो भन्ने थाहा नै थिएन । उनीहरूले रास्वपाको “घोषणापत्र”मा होइन, पुराना दलप्रतिको “घृणा” मा मतदान गरेका थिए ।
नैतिकताको अहंकार र राजनीतिक धर्मान्धता:
अहिले रास्वपा र उसका केही समर्थक वृत्तमा देखिने अर्को गम्भीर समस्या भनेको “नैतिक अहंकार” हो । आफूहरू मात्रै सही, पुराना सबै दल गलत; आफूहरू मात्रै देशभक्त, अरू सबै झोले; आफूहरू मात्रै इमानदार, अरू सबै भ्रष्ट—यस्तो द्वैतवादी सोच लोकतान्त्रिक संस्कृतिको होइन, उग्र भावनात्मक राजनीतिका लक्षण हुन् ।
अहिले स्थिति यस्तो बन्दैछ कि रास्वपाका कतिपय समर्थकहरू आफूलाई सत्यको अन्तिम ठेकेदार ठान्न थालेका छन् र आफूलाई “अन्तिम नैतिक शक्ति” जस्तो प्रस्तुत गर्न खोजेको देखिन्छ । मानौ उनीहरूका लागि— पुराना सबै दल “झोले”, फरक मत राख्ने सबै “भ्रष्ट”, आलोचना गर्ने सबै “दलाल”, प्रश्न गर्ने सबै “देशद्रोही” ।
अब प्रश्न उठ्छ— आखिर उनीहरू चाहिँ कस्को “झोले” हुन् ? कि “झोले” शब्द अरूका लागि मात्रै हो, आफूहरूका लागि होइन ?
लोकतन्त्रमा कुनै पनि शक्ति पूर्ण सत्य हुँदैन । तर अहिले रास्वपाको एक हिस्साले यस्तो व्यवहार दर्शाइरहदा मानौँ उनीहरू “ईश्वरद्वारा प्रमाणित राजनीतिक अवतार” हुन् । उनीहरूको मनोविज्ञान यस्तो देखिन्छ— “हामीले भनेको १०० प्रतिशत सही, अरूले भनेको १०० प्रतिशत गलत ।” तर, लोकतन्त्रमा कुनै शक्ति पूर्ण सत्यको मालिक हुँदैन । यदि त्यस्तो ठानियो भने वैकल्पिक राजनीति क्रमशः असहिष्णु भिड तन्त्रमा रूपान्तरण हुन थाल्छ ।
यहीँबाट राजनीतिक धर्मान्धता सुरु हुन्छ । जब कुनै दल आफ्ना समर्थकलाई “नागरिक” होइन, “विश्वासी अनुयायी” मा बदल्न थाल्छ, तब राजनीति विचारबाट भीडमा झर्छ । त्यसपछि प्रश्न हराउँछ, आलोचना हराउँछ, आत्मसमीक्षा हराउँछ । इतिहासमा हरेक उग्र आन्दोलन यही रोगबाट बिग्रिएको छ— आफूलाई सत्यको एकमात्र स्रोत ठान्ने रोगबाट ।
तर्कको मृत्यु र ट्रोलको विजय:
राजनीति टिकटक (TikTok) को कमेन्ट सेक्सन (comment section) होइन । राज्य सञ्चालन मीमि(meme), स्लोगन(slogan) र भाइरल भिडियो (viral video) ले हुँदैन । अहिले सामाजिक सञ्जालमा एउटा खतरनाक संस्कृति हुर्किंदैछ— तर्क होइन, ट्रोल । विचार होइन, भीड । विवेक होइन, उत्तेजना । असहमति होइन, गाली ।
यसको परिणामस्वरूप परिवार विभाजित हुँदैछन्, साथीहरू ध्रुवीकृत भइरहेका छन्, कक्षाकोठा विषाक्त बन्दैछन् र समाज प्रतिशोधी मनोविज्ञानतर्फ धकेलिँदैछ । विडम्बना के भने, यही अवस्थालाई “नयाँ राजनीति” को नाम दिइँदैछ ।
वास्तवमा अहिले एउटा भयावह न्यारेटिभ रास्वपा समर्थक स्वयंले स्थापित गराउदै छन कि — “अराजक, असहिष्णु, कुतर्की, अधैर्य, अश्लील र प्रतिशोधी राजनीतिक संस्कृतिको नयाँ केन्द्र स्वयं रास्वपा र उसका अन्धसमर्थकहरू हुन् ।”
सामाजिक सञ्जालमा अहिले एउटा नयाँ राजनीतिक रोग देखिन्छ— “तथ्यभन्दा भावनाले जित्ने रोग” । जसले धेरै करायो, त्यही सही । जसले धेरै गाली गर्यो, त्यही राष्ट्रवादी । जसले धेरै उत्तेजना फैलायो, त्यही क्रान्तिकारी । यसरी लोकतन्त्र क्रमशः “reaction culture” (प्रतिक्रियामूलक संस्कृति)मा बदलिँदैछ ।
आलोचना सुन्न नसक्ने राजनीति:
सबैभन्दा खतरनाक कुरा के हो भने— आलोचनालाई सुधारको अवसर होइन, “षड्यन्त्र” को रूपमा हेरिन थालिएको छ । मानौँ आलोचना गर्नु नै अपराध हो ।
तर कुनै पनि राजनीतिक शक्ति आलोचनाभन्दा माथि उठ्ने क्षणदेखि लोकतान्त्रिक रहँदैन । त्यो क्रमशः “भीडको धार्मिक संगठन” मा बदलिन थाल्छ । आज जो कोही प्रश्न गर्छ, ऊ “झोले” घोषित हुन्छ । भोलि यही मानसिकताले पत्रकारलाई “देशद्रोही”, बुद्धिजीवीलाई “दलाल” र नागरिकलाई “शत्रु” घोषणा गर्न बेर लाग्दैन ।
लोकतन्त्रमा असहमति शत्रुता होइन । तर अहिलेको राजनीतिक उन्मादले “फरक मत” लाई नै अपराध बनाउन थालेको छ । यो प्रवृत्ति खतरनाक छ, किनकि लोकतन्त्रको पहिलो शर्त नै आलोचना सहन सक्ने क्षमता हो ।
“सबै भत्काऊ” को राजनीति :
रास्वपा र बालेन शैलीको राजनीतिमा अहिले अर्को गम्भीर रोग देखिन्छ— “सबै पुराना खराब, त्यसैले सबै भत्काऊ” भन्ने मानसिकता ।
हो, पुराना दल भ्रष्ट छन् । हो, प्रणाली सडेको छ । तर प्रश्न के हो भने— के राज्य चलाउने तरिका “सबैतिर आगो लगाएर” सुरु हुन्छ ? घरको एउटा कोठा बिग्रियो भन्दैमा सिंगो घरमा आगो लगाइँदैन ।
हुन त उनीहरूको उदयको ऊर्जा “सिस्टम तोड्ने” भावनाबाट आएको हो । तर राज्य केवल तोडेर चल्दैन; राज्य सञ्चालन संस्थागत संयमता, प्रक्रियागत अनुशासन र शक्ति सन्तुलनबाट चल्छ । पुराना सबै संरचना एकैपटक ध्वस्त पार्ने मानसिकता क्रान्तिकारी र आकर्षक त देखिएला, तर व्यवहारमा त्यसले संस्थागत अराजकता जन्माउन सक्छ ।
तर अहिलेको राजनीतिक उन्मादमा यस्तो लाग्छ— केही मानिसहरूलाई बुल डोजर (bulldozer) नै दर्शन जस्तो लाग्न थालेको छ । संस्था कमजोर छन् भन्दैमा संस्था नै ध्वस्त पार्ने ? न्यायालय, प्रशासन, संसद, कर्मचारीतन्त्र— सबैलाई एकै पटक “शत्रु” घोषणा गरेर देश चल्छ ?
यसरी राज्यको सम्पूर्ण संरचना खतम छ र पुरानाको सेटिङमा छ भन्दैमा सम्पूर्ण संस्थालाई शत्रु ठान्ने र एकैपटक अन्धाधुन्ध आक्रमण गर्ने प्रवृत्तिले अन्ततः आफूलाई पनि संस्थाहीन बनाउँछ । अर्थात यो प्रवृत्तिले उनिहरू त डुब्छन नै अन्तमा मुलुकको अस्थित्व नै डुबाउन पनि सक्छन ।
क्रान्ति स्लोगन (slogan) ले सुरु होला, तर राष्ट्र संस्थाले चल्छ । संस्था भत्काउन सजिलो हुन्छ, तर संस्था बनाउन पुस्तौँ लाग्छ ।
नयाँ अनुहार, पुरानै अपरिपक्वता:
अहिले रास्वपामा देखिएको अर्को ठूलो समस्या भनेको “नयाँमा पनि अति चम्किने नयाँ” प्रवृत्ति हो । जहाँ राजनीतिक प्रशिक्षण, वैचारिक अनुशासन र राज्य सञ्चालनको आधारभूत समझ नै कमजोर देखिन्छ । तर आत्मविश्वास भने यस्तो— मानौँ प्लेटो, म्याकियाभेली र ली कुआन यू सबै एउटै शरीरमा अवतार लिएर आएका हुन् ।
उनीहरूका केही सांसदका हर्कत हेर्दा कहिलेकाहीँ यस्तो लाग्छ— देशको संसद् होइन, open mic comedy (हास्य प्रस्तुति) चलिरहेको छ ।
उपसभामुखको ChatGPT(च्याट जीपिटि) काण्डदेखि कतिपय सांसदका सार्वजनिक व्यवहारलाई हेर्दा प्रश्न उठ्छ— के उनीहरूलाई आफ्नो पदको गरिमा, राज्यको संवेदनशीलता र राजकाजको न्यूनतम मर्यादाको ख्याल छ ? कि चुनाव जितेपछि गभर्नेन्स(governance) आफैँ डाउनलोड (download) हुन्छ भन्ने लागेको थियो ?
नेपालको समाज अहिले अत्यन्त भावनात्मक संक्रमणको अवस्थामा छ । जनता छिटो परिणाम चाहन्छन्, तत्काल न्याय चाहन्छन्, तत्काल परिवर्तन चाहन्छन् । तर राज्य र समाज परिवर्तन टिकटक (TikTok), रिल (Reels) भिडियोको गति जस्तो हुँदैन । “ज्ञ बाट ज्ञान आउँछ र क्रान्ति हुन्छ” भन्ने प्रकारको रोमाञ्चक नाराले भीड त तान्न सक्छ, तर राष्ट्र निर्माण गर्दैन ।
हो, पुराना दलका सबै नेता सक्षम थिए भन्ने होइन । तर कम्तीमा उनीहरूलाई राज्य कसरी चल्छ भन्ने आधारभूत “भाँति” त थियो । नयाँमध्ये कतिपय त साँच्चै “बाटोमा टिपेर ल्याएका सरकसका जोकर” जस्ता देखिन थालेका छन्— जसलाई माइक त दिइयो, तर राज्य भनेको के हो भन्ने बुझाइ दिइएन ।
भीडको उन्माद र सम्भावित आत्मविनाश:
सबैभन्दा ठूलो विडम्बना के हो भने— रास्वपा पुराना दलको विकल्प बन्न आएको थियो, तर अहिले उसकै समर्थक वृत्तमा “भीडीय निरंकुशता” को बीउ उम्रिन थालेको छ ।
इतिहासमा यस्ता आन्दोलन धेरै आएका छन् । सुरुमा जनता ताली बजाउँछन् । पछि भीडले विवेक खान थाल्छ । अन्ततः त्यही आन्दोलन आफ्नै उन्मादको भारले ढल्छ ।
जनताको आक्रोशलाई दीर्घकालीन राजनीतिक चेतनामा रूपान्तरण गर्न नसक्ने शक्ति अन्ततः क्षणिक विस्फोटमै सीमित हुन्छ । यदि रास्वपा यही बाटोमा गयो भने— उसले आफ्नै जनमतलाई विषाक्त बनाउनेछ, समर्थकलाई नागरिक होइन “डिजिटल लडाकु” बनाउनेछ, लोकतान्त्रिक सम्भावनालाई भीडीय अराजकतामा बदल्नेछ । राज्य सञ्चालनमा दर्शन, अर्थशास्त्र, प्रशासन, कूटनीति, कानुन, सामाजिक मनोविज्ञान र संस्थागत प्रक्रियाको गहिरो समझ आवश्यक हुन्छ । केवल सनक, उत्तेजना र भीडको समर्थनले शासन चल्दैन ।
यदि रास्वपा र बालेन शैलीको राजनीति अझै यही बाटोमा अघि बढिरह्यो भने सम्भावित परिणामहरू :- सामाजिक ध्रुवीकरण तीव्र हुने, संस्थामाथिको जनविश्वास झन् कमजोर हुने, भीडतन्त्रले विवेकलाई विस्थापित गर्ने, आलोचना असहिष्णुता बढ्ने हुन्छ र वैकल्पिक राजनीतिप्रतिको आशा नै क्षयीकरण हुने संभावना रहन्छ । अन्ततः जनता पुनः निराश भएर फेरि अर्को “उद्धारकर्ता” खोज्न थाल्नेछन् ।
यदि उनीहरूले आत्मसमीक्षा गरे, संस्थागत अनुशासन सिके, आलोचनालाई स्वीकारे, भीडलाई नागरिकमा बदल्ने प्रयास गरे र उत्तेजनाभन्दा शासन क्षमता विकास गरे भने उनीहरूले नेपालको राजनीतिमा नयाँ अध्याय पनि खोल्न सक्छन् ।
निष्कर्ष:
नेपाललाई उद्धारकर्ता होइन, राजनीतिक परिपक्वता चाहिएको छ । नेपालको समस्या नयाँ अनुहारको अभाव होइन; समस्या राजनीतिक संस्कृतिको हो । पुराना दलहरूले भ्रष्टाचार, भागबण्डा र संरक्षणवादमार्फत लोकतन्त्र कमजोर बनाए ।
यदि नयाँ शक्तिहरूले पनि असहिष्णुता, नैतिक अहंकार, उत्तेजना र भीडतन्त्रमार्फत लोकतन्त्रलाई नै क्षति पुर्याउने हो भने— इतिहासले उनीहरूलाई “उद्धारकर्ता” होइन, “निराश जनताको क्षणिक उन्माद” को रूपमा सम्झिनेछ ।
किनकि अन्ततः राष्ट्र meme ले बन्दैन । viral भाषणले बन्दैन । Facebook र TikTok Live ले बन्दैन । राष्ट्र बनाउन चेतना चाहिन्छ । ज्ञान चाहिन्छ । संयम चाहिन्छ । संस्था चाहिन्छ । र सबैभन्दा धेरै— “म पनि गलत हुन सक्छु है” भन्ने लोकतान्त्रिक विनम्रता चाहिन्छ ।
-२०८३ बैशाख २७ गते ।



















