
काठमाडौँ । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन भएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार मार्गदर्शन संशोधन गर्दै चालू पुँजी कर्जाको सीमा बढाएको हो । केन्द्रीय बैंककाअनुसार अब उत्पादनमूलक उद्योगले अधिकतम ४ करोडसम्म चालु पुँजी कर्जा पाउने भएका छन् । यसअघि मार्गदर्शनले यस्तो कर्जाको सीमा २ करोडसम्म पाउने गरी सीमा निर्धारण गरेको थियो । यसका विरुद्ध उद्योग व्यवसायीहरूले निरन्तर दबाब दिएपछि केन्द्रीय बैङ्कले मार्गदर्शन संशोधन गर्दै कर्जाको सीमा बढाएको हो ।
‘संशोधित मार्गदर्शनअनुसार फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु. २ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा रु. ४ करोडसम्म) को चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार /बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ ।