सुनका गहना चोरेको आरोपमा एक युवती पक्राउ

गोरखा । लमजुङमा सुनका गरगहना चोरी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार केही दिनअघि बेसीशहर नगरपालिका-७ को क्याम्पस रोड र न्यू इरा बोर्डिङ स्कुल नजिकै भएको छुट्टाछुट्टै घटनामा करिब २३ तोला बराबरको सुनका विभिन्न गहनाहरु चोरी भएको थियो । चोरीको घटना बढ्न थालेपछि सूक्ष्म अनुसन्धानका साथै निगरानी बढाएको लमजुङ प्रहरीले आइतवार बेसीशहरकी सुजा घिमिरेलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी घिमिरेको साथबाट सुनको रानीहार, मिनिहार, सिक्री र सुनको गणेशको मूर्ति लकेट एक/एक थान फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै सुनको वाला, औठी, झुम्का, सुनको रातो पत्थर जडित औंठी, सुनको पत्थर जडित टप, सुनको औंठी दुई/दुई थान र सुनको टप ४ थानसमेत फेला परेको छ । उनीविरुद्ध चोरी तथा डाँका कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।