शुक्रबार, बैशाख १८, २०८३
बनेपामा नाँच्दै गाउँदै महिलाले गरे उद्यमका कुरा

बनेपा | तीज नाचगानसँगै उद्यम विकासको आधार बन्न सक्ने उदाहरण बनेपा नगरपालिकाले प्रस्तुत गरेको छ । उपमेयर बिमला सापकोटाको अवधारणा अनुसार महिला उद्यमी बढाउदै घरदेखि नगर समृद्ध बनाउने योजना अनुसार मंगलबार लायकु मंचमा बृहत कार्यक्रम आयोजना गरिएको छ । तीजको अवसर पारेर शुभकामना आदानप्रदानसँगै बजार मेला प्रर्बद्धन कार्यक्रम तथा लोकगित प्रतियोगितामा उद्यम र महिला अधिकारका बिषयमा सहभागीले बहस गर्नुभएको छ ।

बनेपा नगरपालिका भित्रका १४ वटा वडाबाट १५ वटा समूहले प्रतिस्पर्धामा लोकगित प्रतियोगितामा भाग लिएका थिए । नगरपालिकाकै व्यवस्थापनमा निःशुल्क ६५ उद्यमी महिलाहरूले स्टल राखेका थिए । नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकाभित्रका महिलाको सशक्तीकरण, उद्यम र उत्पादनलाई बजारीकरणसँगै महिलाले एक्सपोज यस्ता कार्यक्रमले पाउने बताउनुभयो । महिला उद्यमशिलताको बिषयमा पछिल्लो समय सकृय बनेको बनाउँदै नगरले सदैव महिला उद्यमीलाई प्रोत्साहन गर्ने उहाँले उल्लेख गर्नुभयो ।

उपप्रमुख विमला सापकोटाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न तथा महिलाहरूलाई उत्पादनसँग जोडेर आयआर्जन वृद्धि गर्न सिपसँगै उत्पादनको बजारीकरणका लागि मेला प्रवर्द्धन कार्यक्रम आयोजना गरेको बताउनुभयो । तीन महिलाहरुको महान चाड भएकाले त्यसलाई उत्पादन र आयसँग जोडेर अझ बिशेष बनाउने प्रयास गरेको उल्लेख गर्नुभयो । आफूले उत्पादन गरेका सामाग्रीको प्रदर्शन, उद्योगको जानकारी तथा प्रसार प्रसार र महिलाहरुको शशक्तिकरणका लागि प्रतियोगिता र प्रवर्द्धन मेलाले सकारात्मक भुमिका निर्वाह गरेको उहाँले दाबी गर्नुभयो ।

मेलामा संविधान सभा सदस्य शिला कतिला, पूर्व सांसद गोमा भुर्तेल, पनौती नगरपालिकाको उपप्रमुख गिता बञ्जारा, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख विजया सुवेदी, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरको सहभागिता थियो । लोकगित प्रतियोगितामा प्रथम भएको वडा नं ९, दोश्रो हुने बनेपा ६, तेश्रो हुने बनेपा १० र सात्वना बनेपा ११ लाई क्रमशः नगद पुरस्कार सहितको पुरस्कार वितरण गरियो । नगरपालिकाबाट सिफारिस भई बागमती प्रदेशमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुने दुई महिला कमला लामा र चुना बास्तोलालाई सोही अवसरमा सम्मानपत्रले सम्मान गरिएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय