काठमाडौँ । अर्थमन्त्री डा। प्रकाश शरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । आज सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औँ वार्षिकोत्सवको अवसर बोल्दै अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको बताए । उनले भने, ‘हाम्रो देश आर्थिक समस्याले विभिन्न कारणबाट गुज्रेको छ । तर राम्रो दिन आउँदै छ । यसको राम्रो सङ्केतहरू देखा पर्न थालेका छन् । यसको मतलब यो होइन कि हामी समस्यारहित भइसक्यौँ भन्ने होइन । समस्याहरू छन् । तर ती समस्याहरूलाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरू अब सुरु हुन्छ । र, त्यसका सङ्केतहरू देखिएका छन् । हाम्रो विदेशी मुद्राको सञ्चिति राम्रो छ ।
पर्यटक आगमन वृद्धि भइराखेको छ । त्यसले पनि आर्थिक गतिविधि बढाउँछ । हाइड्रोपावरमा एउटा प्रगति लय पक्रिराखेको छ । र, इन्डियासँग जुन सम्झौता भएको छ । १० हजार मेगावाटसम्म विद्युत् खरिद गर्ने दश वर्षमा । त्यसले लगानीकर्ताहरूलाई एउटा सुनिश्चित मार्केट प्रदान गरेको छ । त्यस्तै खालको समझदारी हामी चीनसँग पनि आगामी दिनमा हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । त्यसले एउटा थप बजारको सम्भावना छ । हामी पहिला पर्यटनको कुरा गर्दा पश्चिमी देशहरूको पर्यटकको कुरा मात्रै हाम्रो दिमागमा आउँथ्यो । अथवा जापानको हाम्रो दिमागमा आउँथ्यो । अहिले हाम्रो छिमेकी देशहरूमा आर्थिक उन्नति, प्रगति भइराखेको छ । त्यसले एउटा धेरै ठुलो सम्भावना टुरिजममा छ ।
तेस्रो सम्भावना हाम्रो यो एग्री सेक्टरमा पनि ठुलो सम्भावना छ । जुन हाम्रो टोपोग्राफी छ । भेराइट क्लाईमेट छ । त्यसले एउटा सहज वातावरण दिन्छ नेपालमा लगानी गर्ने र त्यसको बजार विदेशमा समेत प्राप्त गर्ने सम्भावना त्यसले दिएको छ । त्यस्तै गरेर अहिले आईटी सेक्टर यो वृहत सम्भावनाको क्षेत्र छ । त्यसमा मेजर इन्भेष्टरहरुलाई विदेशमा जुन स्थापित आईटी सेक्टरका कम्पनीहरू छन् । तिनीहरूलाई हामीले ल्याउन सक्नुपर्दछ । र, हामी चाँडै अब एउटा लगानी समिट पनि नेपालमा गर्छौँ । त्यसको लागि तत्कालै हामी यथेष्ट गृहकार्य पनि सुरु गर्छौ । बजेटमा पनि हामीले बोलेका छौँ ।’



















