काभ्रे । ९ औं संविधान दिवसको अवसर पारी बेथानचोक गाँउपालिका वडा नं. २ र हातेमालो युवा समाजको संयुक्त आयोजनामा भएको माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी पार्वती मावि ढुंखर्कले हात परेको छ ।
प्रतियोगिताका गाउँपालिका भित्रका १० वटै मा.वि.हरु चक्रेश्वर मा.वि, भैरव मा.वि., पार्वती मा.वि. कृष्णगोपाल मा.वि. सरस्वती मा.वि. पार्थली, सरस्वती मा.व. भुग्देउ, कालिका मा.वि. भूमेमाता मा.वि. आत्माविकास मावि. र भिमसिनेश्वर मा.वि. सहभागिता रहेको थियो ।
बेथानचोक गाँउपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बेथानचोकको साविक ढुंखर्क गाविसमा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गर्नु हुने डा. बलराम तिमल्सिना, चिनको हुवाई मिन्जु युनिभर्सिटीबाट एम.बि.बि.एस. गर्ने सजना वाईबा र त्रिभुवन विश्वविद्यालयबाट एम.बि.बि.एस. गर्ने शैलेष दाहाललाई बेथानचोक शैक्षिक उच्चता सम्मान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकास्तरमा हुने गरेका प्रतिस्पर्धात्मक विभिन्न प्रतियोगिताले विद्यार्थीहरुमा क्षमता र सीपमा बढोत्तर हुने भएकाले यस प्रकारका गतिविधिमा गाउँपालिकाले लगानी गर्दै लैजाने बताए । किताबको सिमित दायरा मात्र ज्ञान नभई किताब बाहिर अझ धेरै विषयवस्तु हुने भन्दै उहाँले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पर्याप्त लगानी र त्यसको चुस्त व्यवस्थापन पहिलो सर्त भएको उल्लेख गरे ।
गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिसकेको र पाठ्यावस्तु वाहिर पनि विद्यार्थीहरुको चौतर्फी विकासका लागि घुम्ती शिक्षकबाट शिक्षा दिइएको बताए । संविधानले गरेको ब्यवस्था निःशुल्क शिक्षा र शिक्षाका अधिकारका सन्दर्भमा आवश्यक श्रोत जुटाउन गाउँपालिका हर प्रकारबाट लागि पर्ने बताए ।
कार्यक्रममा साविक ढुंखर्क गा.वि.स.मा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गर्नु हुने डा. बलराम तिमल्सिनाले आफ्नो क्षेत्रका लागि आर्जिक ज्ञान, सीपले सजाउने प्रतिवद्धता व्यक्त गर्दै आयोजक संस्था हातेमालो युवा समाजले सबै माझ साक्षात्कार हुने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रमक सभापति एवं वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले वडा भित्र रहेका विभिन्न संघसंस्थासँग हातेमालो गर्दैकार्य गर्दै जाने बताए । उनले वडाका शिक्षा, स्वास्थ्य, वाताववरण सरसफाई लगायतका सामाजिक तथा समुदायिक उत्तरदायित्व बहन गर्न वडाले संघसंस्थासँग मिलेर कार्य गर्दै आइरहेको र भावी दिनहरुमा पनि यसलाई उत्साहका साथ निरन्तरता दिँदै जाने बताए ।



















