
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु भएको छ ।
मुख्यमन्त्री कार्कीले असोज २० गते शनिवबार विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
अहिलेसम्म मुख्यमन्त्री कार्कीलाई एमाले बाहेकका दलले विश्वासको मत दिने निर्णय लिएका छैनन् । यसअघि एमालेकै कित्तामा उभिएको राप्रपा पनि यसपटक मत नदिने बताएको छ । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ । तर, एमालेलाई अन्य दलले समर्थन नगरेको र एमालेसाँ मात्रै ४० मत रहेकाले विश्वासको मत पाउने सम्भावना अति नै न्युन छ । एमालेका ४० सांसदमा पनि उपसभामुख एमालेकै छिन् ।
सभामुख नभएकाले उपसभामुखले सभाको अध्यक्षता गर्नुपर्ने अवस्था छ । त्यसैले कार्कीको पक्षमा जम्मा ३९ मत पाउने अवस्था देखिन्छ । कोशीमा एमालेबाहेक काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ सांसद छन् ।