एसियाडमा क्रिकेटको फाइनलमा भारत र अफगानिस्तान भिड्ने

काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटको फाइनलमा भारत र अफगानिस्तान भिड्ने भएका छन् । आज भएका दुई खेलमा भारतले बंगलादेशलाई हराउँदै र अफगानिस्तानले पाकिस्तानलाई हराउँदै फाइनलमा प्रतिष्पर्धा गर्ने पक्का गरेका हुन् । भर्खरै सकिएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको पाकिस्तानले १८ ओभरमा अलआउट ११६ रन बनाएको थियो । उक्त लक्ष्य अफगानिस्तानले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो। त्यस्तै आज बिहान भएको खेलमा भारतले बंगलादेशमाथि ९ विकेटको सहज जित हात पार्दै एसियाड अन्तरगत पुरुष फाइनलमा पुगेको छ ।

बंगलादेशले दिएको ९७ रनको लक्ष्य भारतले ९.२ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । उसका लागि तिलक बर्माले अविजित ५५ र कप्तान ऋतुराज गायकवाडले ४४ रन बनाए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । उसका लागि जाकिर अलीले सर्वाधिक २४ र परवेज हुसेन इमोनले २३ रन बनाए । बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका शाई किशोरले ३ विकेट लिए भने वाशिङटान सुन्दरले २ विकेट हात पारे ।

सिफारिस

ताजा समाचार

लोकप्रिय