सरकारले भन्यो- हमासको आक्रमणमा इजरायलमा ९ नेपाली घाइते, २ को अवस्था गम्भीर

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार हमासको आक्रमण लगत्तै फार्ममा काम गरिरहेका १४ जना नेपाली रहेको ठाउँमा आक्रमण भएको हो। जुन आक्रमणमा परी नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । थप अपडेटहरू निश्चित समयमा गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालीहरू पनि घाइते भएको खबरसँगै शनिबार साँझ परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक बसी सो घटनाबारेको जानकारी गराइएको हो।
साथै, सरकारले इजरायल सरकारसँग नेपालको ऐक्यबद्धता रहेको पनि बताएको छ। ‘नेपाल सरकार इजरायलमा आज भएको आतंकवादी हमलाको घोर भत्सर्ना गर्दछ जसले बहुमूल्य मानवीय ज्यान गुमाउनुका साथै धेरै घाइते भएका थिए।
यस महत्वपूर्ण घडीमा, हामी इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं,’ मन्त्रालयले भनेको छ। स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र अधिकारीहरूले सुझाव दिएका सुरक्षा उपायहरूको पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई सम्र्पकमा आउन पनि भनेको छ ।