सोमबार, बैशाख ०७, २०८३
सम्बन्धन बाँड्ने काम परिषद्को होइन : मन्त्री राई

काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले सम्बन्धन बाँड्ने काम परिषद्को नभएको बताएका छन् । प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)को तीनदिने ४१औँ व्यवस्थापन गोष्ठीको काभ्रेको बनेपास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै सम्बन्धन बाँड्ने काम परिषद्को नभएको बताएका हुन् ।

मन्त्री राईले सम्बन्धन बाँड्ने काम परिषद्को नभएके जिकरि गरे । उनले पुनः प्रश्न गरे “परिषद्ले सम्बन्धन बाँड्ने हैन, तर कसरी बाडियो ? १६ बर्षदेखि लाग्दो पैसा तिरेर कुरेर बसेकाले सम्बन्धन किन पाएनन् त ? सेवाग्राहीलाई दिने न्याय यही हो ?” यसअघि बनाइएका कार्यदलले गरेका कामलाई अध्ययन गरी अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।

“सबैले आ–आफ्नो जिम्मवारी पूरा गरे अवश्य लक्ष्यमा पुग्न सकिन्छ”, मन्त्री राईले भने । उनले नीति–निर्माण र ओहोदामा बस्नेले जिम्मेवारी पूरा गर्दा कर्मचारी सङघ सङ्गठनले चुनौति दिँदै मन्त्रीलाई ‘पख्लास्’ भनिहरनु पर्ने अवस्था नआउने तर्क गरे । मानिसले आफ्नो क्षमता विस्तार गर्दै अधिकतम् क्षमता इमान्दारिता र सक्रियतापूर्वक राष्ट्र सेवामा समर्पित गर्न सम्पूर्ण कर्मचारीलाई उनले आग्रह गरे ।

मन्त्री राईले नेपालले आर्थिक समृद्धिसँगै पूँजी तथा मानव संसाधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताए । “मान्छे अस्थिर हुन्छन्, मुख्य कुरा संस्था रहनुपर्छ, संस्था बाँच्यो भनेर सबैलाई हुन्छ, संस्था खरानी भयो भने गुनासो गर्ने कि, एक अर्कालाई गाली गरेर बस्ने” उनले प्रश्न गरे । गोष्ठीले विश्व बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा बृद्धिलगायतका आगामी दिनका चुनौतिबारे ठोस निर्णय लिन उनले सुझाव दिए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेलले सिटीइभिटीको पुनःसंरचना पूर्वाधार सुहाउँदो नगरिएको गुनासो गर्दै स्थानीयस्तरमा उत्पादित सामग्री खपत तथा बजारीकरण गर्ने प्रविधिक तयार गर्न आग्रह गरे । सिटीइभिटीका सदस्य सचिव महेश भट्टराई, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायतले उपलब्धीलाई समीक्षा गर्दै सम्भावनालाई रोजगारीसँग जोड्न आग्रह गरेका थिए ।

गोष्ठीमा सिटीइभिटीको सात प्रदेश प्रमुख तथा आंगिक ६५ शिक्षालयका प्रमुखको सहभागिता रहेको उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार देशभर सिटीइभिटीको सम्बन्धन प्राप्त एक हजार एक सय शिक्षालय सञ्चालनमा रहेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय