ओरालो यात्रामा नेप्से

साताको चौथो दिन सेयर बजारमा ५.८३ अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ०.३१ प्रतिशतले घटेर १८५८.५६ को बिन्दुमा आइपुगेको हो । अघिल्लो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको थियो ।

नेप्से घट्दा कारोबार रकममा भने सामान्य वृद्धि आएको छ । बुधबार ८१ करोड २० लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भयो । अघिल्लो कारोबार दिन मंगलबार ५७ करोड  १४ लाख ८३ हजार रुपैयाँको सेयर किनबेच भएको थियो ।

बुधबार ७७ हजार ८ सय ७० कारोबारमार्फत २ सय ९६ स्क्रिप्टका ३३ लाख ६४ हजार ५६ इकाइ सेयर किनबेच भए । तीमध्ये सबैभन्दा बढी सोनापुर मिनिरल्स एन्ड आयलको १४ करोड ६० लाख २ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भए ।

कारोबार रकमका आधारमा आशा लघुवित्त दोस्रोमा रह्यो । हाथवे इन्भेस्टमेन्ट, सिटिजन लाइफ र हिमालयन डिस्टिलरी पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा रहे । नेप्से घट्दा बजार पुँजीकरण २८ खर्ब ६२ अर्ब ९९ करोड  रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा लगानीकर्ताको कूल सम्पत्ति ९ अर्ब रुपैयाँले घटेको हो ।

नेप्से घटेको दिन सेन्सेटिभ इन्डेक्स ०.८३ अंकले घटेर ३५९.९५ बिन्दुमा झरेको हो । कारोबारमा आएका १ सय ६२ कम्पनीको मूल्य घट्दा सेयर बजारमा गिरावट आएको हो । बुधबार ६८ कम्पनीको सेयर मूल्य बढ्दा ८ वटाको भने स्थिर रह्यो ।

नेप्से घटेको दिन सयपत्री हाइड्रोको सेयर मूल्य सर्वाधिक ९.३९ प्रतिशतले बढेको छ । हिमालयन लघुवित्तको सेयरधनीले दोस्रो धेरै कमाउँदा रावा इनर्जी, मेगा म्युचुअल फन्ड १ र घलेम्दी हाइड्रोको सेयर धनी पनि सर्वाधिक कमाउनेमा परे ।

यता सोनापुर मिनिरल्सको सेयर मूल्यमा चौथो दिन पनि भारी गिरावट आएको छ । ३ दिनसम्म नेगेटिभ सर्किट लागेको कम्पनीको सेयर मूल्य चौथो दिन ८ प्रतिशतले घटेको हो । बुधबारको कारोबार समाप्तिसम्म सोनापुरको सेयर मूल्य घटेर २ सय ३४ रुपैयाँ ८० पैसा कायम भएको छ । कम्पनीको सेयर कारोबार आइतबार प्रतिकित्ता ३ सय ५० रुपैयाँमा खुलेको थियो ।

दोस्रो धेरै सिद्धार्थ इक्विटी फन्डका इकाइधनीले गुमाउँदा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ फन्ड २ को इकाइ तथा सीवाईसी लघुवित्त र स्वेतगंगा हाइड्रोको सेयर मूल्य सर्वाधिक घट्नेको शीर्ष ५ मा परे । यसदिन लगानी समूहबाहेक कारोबारमा आएका सबै समूहगत उपसूचक नकारात्मक रहे ।  जसमध्ये होटल तथा पर्यटन समूह सर्वाधिक १.०१ प्रतिशतले घटेको छ । लगानी समूहको उपसूचक भने ०.०८ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस