काठमाडौँ । यस वर्षको तिहारमा देशभर ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार तिहारको पाँच दिनमा मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबरको कारोबार हुनेछ।
माला, फूलका थुँगा र गमलासमेत जोड्दा यस वर्ष तिहारमा समग्र पुष्प व्यवसायको कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
फ्यानका अनुसार सबैभन्दा धेरै ४५ लाख सयपत्री फूलका माला खपत हुनेछन्, जसबाट ४० करोड ५० लाख रुपैयाँको कारोबार हुने अनुमान छ। त्यस्तै, ६ लाख मखमली मालाबाट २ करोड ७० लाख, २० हजार गोदावरी मालाबाट २ करोड ४० लाख र ६० हजार मिक्स मालाबाट २ करोड ४० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ।
मालाबाहेक ३५ लाख सयपत्री फूलका थुँगाबाट १० करोड ५० लाख र ८ लाख गोदावरीका गमलाबाट ६ करोड रुपैयाँको कारोबार हुने फ्यानले जनाएको छ।


