काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबीच आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपाल–जर्मनी सम्बन्ध, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जर्मनीबीचको सम्बन्ध आपसी विश्वास, मित्रता र सहयोगका आधारमा सुदृढ हुँदै आएको उल्लेख गर्नुभयो। उहाँले नेपालको सामाजिक–आर्थिक विकास, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा संस्थागत सुदृढीकरणमा जर्मनीले पुर्याएको योगदानको प्रशंसा गर्दै भोटेकोशी बाढीपछि प्राप्त राहत तथा आर्थिक सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।
भेटका क्रममा जर्मन राजदूत भोल्जले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालले विपत्तिबाट शीघ्र पुनःउत्थान हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले विपत्तिपछिको पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोगका सम्भावित क्षेत्रबारे छलफल गर्न जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयकी संसदीय राज्यमन्त्री डा. बार्बेल कोफ्लरको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको जानकारीसमेत दिनुभयो।


