चितवन । सहकारीमा बचत गरेको करोडौँ रुपैयाँ फिर्ता नपाएपछि चितवनका पीडितले आफ्नो पीडा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसमक्ष सुनाएका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनमा सोमबार आयोजित कार्यक्रममा ८४ वर्षीय पूर्वप्राध्यापक विष्णुप्रसाद सापकोटाले घर बिक्री गरेर शिवशिखर सहकारीमा राखेको परिवारको रु तीन करोड ५० लाख फिर्ता नपाएको बताउनुभयो। आफ्नो बुढेसकालको सहारा बनेको बचत गुमाउनुपरेको पीडा सुनाउँदा उहाँ भावुक हुनुभएको थियो।
त्यस्तै, एक महिलाले १४ कठ्ठा जग्गा बिक्री गरेर सनराइज सहकारीमा राखेको रकमसमेत फिर्ता नपाएको गुनासो गर्नुभयो। साना व्यवसाय गरेर जीवनभर जम्मा गरेको पैसा गुमाउनुपरेको पीडा अन्य बचतकर्ताले पनि सुनाएका थिए।
पीडितका गुनासा सुनेपछि मन्त्री रावलले रकम फिर्ता गराउन र मुद्दाको सुनुवाइलाई तीव्र बनाउन सरकारबाट आवश्यक पहल भइरहेको बताउनुभयो।


