काभ्रेको बनेपाबाट अबैध सुन-चाँदीसहित भारतीय नागरिक पक्राउ
मंगलबार, मंसिर १९, २०८० | १५:०१:४३

काभ्रे । जिल्लाको बनेपाबाट सुन-चाँदीसहित भारतीय नागरिक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बनेपाले भारतको महाराष्ट्र साङ्ली जिल्ला घर भएका सचिन बिभुतेलाई पक्राउ गरेको हो।
उनलाई सोमबार साँझ बनेपा नगरपालिका-७ वकुटोलस्थित एक घरबाट पक्राउ गरेको हो। अवैध रूपमा ठूलो परिमाणमा सुन तथा चाँदी गालेर बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले बताए ।
उनीबाट बिल नभएको २२ लाख ६१ हजार ९०१ रुपैयाँ बराबरको २३५.९ ग्राम सुन बरामद भएको हो। यस्तै २ लाख ४३ हजार २६५ रुपैयाँ बराबरको १९०१.२६ ग्राम चाँदी पनि प्रहरीले बरामद गरेको हो।
स्रोत नखुलेको ५ लाख ७३ हजार १३५ रुपैयाँ र २२ हजार भारतीय रुपैयाँ पनि बरामद गरेको छ। थप अनुसन्धान गर्न राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको छ।