काभ्रेमा बाघले खाएको भनिएकी महिलाको हत्या पुष्टि, एक किशोर पक्राउ

काभ्रे । गत मंसिर ३० गते मृत अवस्थामा फेला परेकी मण्डनदेउपुर नगरपालिका वडा नम्बर-१० हल्देकी कान्छी दमाईको हत्या भएको पुष्टि भएको छ । उनको हत्या गरेको आशंकामा एक किशोर पक्राउ परेका छन् ।

दमाईको शव घरबाट ४०० मिटर उत्तरतर्फ छिमेकीको बारीमा फेला परेको थियो । स्थानीयबासीले उनको मृत्यु बाघको आक्रमणबाट भएको आशंका गरेका थिए । प्रहरीले उनको शव पोष्टमार्टमका लागि धुलिखेल ल्यायो । तर, उनको मृत्यु कुनै जंगली जनावरबाट नभई गहिरो चोटका कारण भएको र त्यो चोट जनावरको आक्रमणबाट नभएको पोष्टमार्टम रिपोर्ट आयो ।

कान्छी दमाईको हत्या भएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले विशेष टोली परिचालन गरेको थियो । सोही क्रममा मृतकले लगाउने गहना सुन पसलमा बेच्न ल्याउने मानिसहरुमाथि शंका गर्दै थप अनुसन्धान गर्ने क्रममा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने सोही ठाउँका अन्दाजी १७ वर्षका वुद्ध तामाङ हुन् । कान्छी दमाईले लगाएको गहना बेच्ने क्रममा उनलाई पुस १३ गते नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद लिई घटनाको अनुसन्धान भइरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय