
काठमाडौं । दाङको भालुबाङमा शुक्रबार राति भएको बस दुर्घटना प्राविधिक समस्याका कारणले भएको चालकले बताएका छन् ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट तल राप्ती नदीमा खसेको थियो ।
दुर्घटनामा परि सामान्य घाइते भएका सल्यान त्रिवेणी निवासी २८ वर्षीय चालक लालबहादुर नेपालीले प्रहरीको नियन्त्रणमा छन् ।
उनले प्रहरीसमक्ष चक्का नघुमेपछि बस पुलबाट राप्ती नदीमा खसेको बयान दिएका हुन् । यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बताए ।
उक्त बसमा सवार ३५ जना यात्रुमा दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेहरुको उपचार जारी रहेको छ ।