काभ्रे । सामूहिक बलात्कार गरेको अभियोगमा ४ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरका श्याम श्रेष्ठ, उदयपुरका धिरज हमाल र धनकुटाका २ जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।
उनका अनुसार पुस २७ गते साँझ ६ गते पाँचखाल नगरपालिका-७ स्थित शिखरपुरमा आत्महत्या प्रयास गर्दैगर्दा प्रहरी टोलीले एक युवतीको उद्धार गरेको थियो । उद्धारपश्चात् आत्महत्याको कारण सोधपुछ गर्दा आफूमाथि चार जना पुरुषले सामूहिक बलात्कार गरेको र पीडा सहन नसकेर आत्महत्या प्रयास गरेको ती युवतीले बताएको एसपी ढकालले बताए ।
प्रहरी टोलीले चारै जनालाई पुस २७ गते नै पक्राउ गरे पनि पूर्ण विवरण नपाएकोले ढिला सार्वजनिक गरिएको हो । उनीहरुमाथि ७ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















