
काभ्रे । काभ्रेमा २६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्पीय सुरक्षा सम्बन्धी डेमो प्रदर्शन गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति काभ्रेको आयोजना र सशस्त्र प्रहरी बलल नेपाल गण नं १५ हे.क्वाको प्राविधिक सहयोगमा जिल्लाको पाँचखाल नगरपालिका-४ स्थित खेलमैदानमा भूकम्पपछिको सुरक्षा सम्बन्धी डेमो प्रदर्शन गरिएको हो ।
कार्यक्रममा भूकम्पबाट कसरी जोगिने ? भूकम्पमा परेका व्यक्तिहरुको कसरी उद्धार गर्ने, कसरी सुरक्षित स्थानमा बस्ने, विपदमा सुरक्षाकर्मीहरुको तयारी अवस्थालगायत विषयमा सशस्त्र प्रहरीको टोलीले अभ्यास प्रस्तुत गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले भूकम्पबाट बच्न भूकम्प प्रतिरोधी संरचनाहरु निर्माण गर्नुपर्ने बताए । ‘ठूला संरचना होइन, मापदण्ड पूरा गरेर संरचनाहरु निर्माण गर्यौं भने हामी भूकम्पबाट सुरक्षित रहन सक्छौं,’ समन्वय प्रमुख गौतमले भने, ‘यससँगै भूकम्पबाट बच्नको लागि यस प्रकारको सचेनामूलक नमुना अभ्यास पनि निकै प्रभावकारी हुने देखिन्छ ।’
जिल्ला विपद व्यवस्थापन समिति काभ्रेकी संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भूकम्पजस्ता विपदका घटना अचनाक हुने भएकाले विपदमा कसरी सुरक्षित हुने, सुरक्षाकर्मीले कसरी उद्धार गर्छन्, विपदको व्यवस्थापन कसरी हुन्छ, सुरक्षाकर्मीको तयारी अवस्था लगायतका विषय जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।
उक्त कार्यक्रममा जिल्ला डिभिजन वन कार्यालय काभ्रेले सशस्त्र प्रहरी बल नेपाल, गण नं १५ को हे.क्वा र पाँचखाल प्रहरी चौकीलाई अग्नि नियन्त्रणका सामग्रीहरु वितरण गरेको छ । वन कार्यालयले सुरक्षा निकायहरुलाई अग्नि नियन्त्रणका सामग्रीहरु वितरण गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम र काभ्रेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संयुक्त रुपमा दुईवटै सुरक्षा निकायलाई पिग, फायर स्वाटर, फरुवा, हेलमेट, साबेल, कोदालोलगायत ११ थरीका अग्नि नियन्त्रणका सामग्रीहरु वितरण गरेका हुन् ।
आगलागी तथा डढेलोको समयमा उद्धारका सामग्रीसहित सुरक्षाकर्मीहरु तयारी अवस्थामा रहनुपर्ने भएकाले अग्नी नियन्त्रणका लागि प्रयोग हुने सामग्रीहरु वितरण गरिएको जिल्ला डिभिजन वन कार्यालय काभ्रेका प्रमुख शिव सापकोटाले बताए ।