पञ्चकन्या आधारभूत विद्यालयको भवन शिलान्यास

काभ्रे । २०२८ सालमा साविक बनेपाको बखुडोल भन्ने स्थानमा स्थानीयहरूले पाठशालाका रूपमा स्थापना गरी २०२९ साल जेठ १४ गते औपचारिक रूपमा श्रीखण्डपुर-९ हाल धुलिखेल नगरपालिका वडा नम्बर-३ चोलामाथमा स्थापना भएको पञ्चकन्या आधारभूत विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । उक्त भवनको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ब्यान्जुले भूकम्प पछि धुलिखेल नगका-१२ वटा वडाहरूमा रहेका विभिन्न विद्यालयहरूको पुनर्निर्माण गर्ने क्रममा पञ्चकन्या आधारभूत विद्यालय २५ औ नम्बरमा रहेको बताए । उनले विद्यालयको पूर्वाधार निर्माण, भौतिक संरचनासँगै शैक्षिक गुणस्तरमा ध्यान दिएका बताए । दरबन्दी मिलान, विद्यालय तथा शिक्षक एकीकरण, गुणस्तरका लागि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले शैक्षिक कार्यक्रमका लागि नगरपालिका भित्र रहेका विद्यालयहरुमा राज्यको वार्षिक ४५ करोड भन्दा धेरै रकम खर्च भइरहेको बताए ।

धुलिखेल नगरपालिका वडा-३ का वडाअध्यक्ष गणेश आचार्यले वडा क्षेत्रका नागरिकहरूलाई सहज र सुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले पाँच दशक अघि स्थापना भएको विद्यालयले प्रदान गर्ने गुणस्तरलाई अझै बढावा दिन शिक्षक, विद्यार्थी, समुदाय, अभिभावक र जनप्रतिनिधिहरू सक्रिय हुनु पर्ने बताए । उनले नागरिकहरूलाई शिक्षा, स्वास्थ्य र विकासका अन्य पूर्वाधारहरूमा कमी हुन नदिन निरन्तर सक्रिय रहेको जानकारी दिए ।

नर्सरी देखि कक्षा ८ सम्म १ सय ७६ जना विद्यार्थीहरू अध्ययनरत विद्यालय लामो समय देखि केही शिक्षकहरूका कारण नियमित सञ्चालन हुन सकेको थिएन । समुदायको सक्रियताका कारण बन्द हुने अवस्थामा पुगेको विद्यालयलाई पुर्नजिवन दिएकोमा स्थानीयहरूले धन्यवाद व्यक्त गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्री बडालले बताए । नगरपालिका तथा स्थानीय जनप्रतिनिधिको सक्रिय सहयोगका कारण विद्यालयले पुर्नजिवन पाएको उनले बताए ।

२०८१ असार १० गते भित्र सम्पन्न गर्ने गरी दुई तल्लाको ६ कोठे पक्की भवन निर्माणको सम्झौता २०८० पुष १ गते भएको थियो । नगरपालिकाले राखेको १ करोड समपुरक बजेटमा प्रदेश सरकारले १ करोड विनियोजन गरेको थियो । १ करोड ९९ लाख ९९ हजार लागत अनुमान गरिएको उक्त भवन १ करोड २८ लाख २५ हजारमा निर्माण सम्झौता भएको हो । बाँकी रकम सोही विद्यालय निर्माणका लागि खर्च गर्ने नगर प्रमुख ब्याञ्जुले बताए ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय