काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयले आफ्नो ४५औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
४५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले कालोपाटीबाट सेतोपाटीमा आइपुग्दा वर्तमान शिक्षा ‘स्क्रिन जेनेरेशन’मा आधारित भएकोले सोही अनुरुप आफूहरुमा परिवर्तन ल्याउन शिक्षकहरुलाई आग्रह गरे । उनले भने ‘ज्ञान र सिपमा आधारित शिक्षाको संयोजन गरेर विद्यार्थीलाई शैक्षिक ज्ञान कसरी दिने भनेर तयारी गरेर मात्र कक्षाकोठामा प्रवेश गरौँ ।’
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले सिपमा आधारित शिक्षाले बालबालिकामा युग सुहाउँदो ज्ञान आर्जन गर्ने वातावरण सिर्जना गर्न शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिले मिलेरै अघि बढ्नु पर्ने धारणा राखिन । त्यस्तै वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर तामाङले विद्यालयको वृहत्तर हितका लागि वडाबाट गर्नु पर्ने सबै प्रकारका सहयोग गर्न वडा कार्यालय तत्पर रहेको बताउँदै वडाभित्रका ३ वटै माध्यमिक विद्यालयहरु अब्बल हुनेगरी शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे ।
कार्यक्रममा भीम देवः नेवाः समाजका सचिव रामहरि श्रेष्ठ, भूमिमाता मा.वि.का प्रधानाध्यापक यज्ञप्रसाद हुमागाई शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष प्रेमप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वडा नं. ४ का पूर्वअध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयको समसामयिक, भौतिक र भावी योजनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कार्यकाल पुरा गरी जिम्मेवारी हस्तान्तरण गर्नुहुने विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पूर्व पदाधिकारीहरु, चन्दादाताहरु लगायतलाई सम्मान गरिएको थियो भने एस.ई.ई. परीक्षा २०७९ का विद्यार्थी सम्मान, वर्षैभरी विद्यालयका विविध गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष कुवेर ढकाल, पार्वती क्याम्पसका अध्यक्ष विनोद तिमल्सिना, बेथानचोक जेसीजकी निवर्तमान अध्यक्ष शान्ति खत्री, विभिन्न दलीय प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।





















