काठमाडौँ । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा पुगेको बताएका छन् । आज नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले अहिलेको सङ्कटको कारण नै गठबन्धन सरकार भएको बताए ।
गठबन्धनले मुलुकका कुनै पनि समस्या समाधान गर्न सक्दैन भनेर एमालेले पहिला नै भनेको कुरा प्रमाणित भएको उनले बताए । ‘आज गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा पुगेको छ’, उनले भने । देशको स्वाधीनता, स्वाभिमान र रक्षको मामलामा इतिहासकै नालायक र कमजोर सरकारको रूपमा अहिलेको सरकार रहेको पोखरेलले बताए । ‘कुनै एउटामा होइन, हरेक मामिलामा यो सरकार असक्षम र असफल साबित भएको छ’, उनले भने ।
सरकारको विकास निर्माणको काममा कुनै तत्परता नदेखिएको भन्दै उनले आलोचना गरे । उल्टो एमालेको पालामा सुरु भएको राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाको वर्तमान सरकारले बजेट कटौतीको काम गरेको उनले बताए । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन अनेक क्षेत्रका बजेट गठबन्धन सरकारले कटौली गरेको पोखरेलले बताए ।
गठबन्धन सरकार जनताको सरकार नभएर भ्रष्ट, दलाल र तस्करहरूको सरकार भएको उनले बताए । केही दुई नम्बरी काम गर्ने व्यक्तिहरू सरकारको नजिक पुगेर मालामाल भएका उहाँको टिप्पणी छ । सरकारले अवैध अर्थतन्त्रको विकास गरेर देशमा व्यवसायको वातावरण बिगारेको उनको भनाइ छ ।



















