काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइएको दाबी गरेका छन् ।
वीरगन्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको दाबी गरेका हुन् । शाहले राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेर नै आङ्कलन गरेको जिकिर गरे ।
बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको उनको भनाई छ । उनले भने, ‘जेठ १९, २०५८’ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो ।
हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।’



















