काठमाडौं । फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्।
निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन् ।
प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको छ । शनिबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘घटनास्थलमा विशेषज्ञ टोली खटिएर मृतकको शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका कार्यहरू सम्पन्न गरी सो घटनाको गम्भीर अनुसन्धान भइरहेको छ ।’
चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आफ्नो पेशागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको छ, वैज्ञानिक प्रयोग र प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने छ ।’
अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू आइनसकेकाले अनुसन्धान कार्यमा सहयोग गर्न पीडित परिवार तथा आम सरोकारवालासँग अनुरोध गरेका छन् । प्रारम्भिक अनुसन्धानमा १४ वर्षीया छात्रा होस्टलमा अन्य साथीहरूसहित बस्ने कोठाको सिलिङ पंखामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
उनले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन् । त्यसमा ‘सरी ममी, सरी ड्याडी, सरी एभ्रिबडी’ लेखिएको छ । आत्महत्याको दोष उनले कसैलाई नदिई आफूले सबैलाई ‘खुसी’ राख्न नसकेको भाव ‘सुसाइड नोट’मा देखिन्छ ।
उक्त नोटका आधारमा उनले आत्महत्या गरेको हो भन्ने प्रारम्भिक अनुमान हो। सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ । किनभने, उनका बुवा-आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन् । यो १० वर्षमा शालिन ८ वर्ष मामाघर बसिन् । होस्टेल बस्न थालेको जम्मा दुई वर्ष हुँदैथियो ।
आएतबार आएकाे पोष्टमार्टम रिपाेर्टका अनुसार उनको बलात्कार नभएको पाइएको छ । शालिन चार वर्षको उमेरदेखि रत्ननगर-१२ स्थित मावलीमा बस्दै आएकी थिइन् । उनी दुई वर्षदेखि मात्रै उक्त स्कुलको होस्टेलमा बस्दै आएकी थिइन् ।
उनका बुवा-आमाले १० वर्षअघि सम्बन्धविच्छेद गरेका थिए। उनकी आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमै घरजम गरिरहेकी छिन् । उनका बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमती साथ बसिरहेका छन् । ‘उनीहरूले आवश्यक पर्दा बच्चालाई वार्डेनमार्फत् फोन गर्थे भन्ने बुझिन्छ, होस्टलमा मोबाइल बोक्न दिइएको थिएन,’ भण्डारीले भने ।
शवको प्रारम्भिक विवरणअनुसार उनको गालानेर डाम छ । घाँटीमा डोरीको डाम छ। शरीरका अन्य भागमा प्रहरीले प्रारम्भिक अनुसन्धानमा कुनै बाहिरी चोटपटक भेटेको छैन । परिवारका सदस्यले शालिनको हत्या भएको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा तीन जनाविरूद्ध किटानी जाहेरी दिएका छन् ।
प्रहरीले प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, भाइस-प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरी अनुसन्धान थालेकाे छ ।



















