काभ्रे । झुट्टा विवरणका आधारमा नागरिकता जारी गरेको भन्दै काभ्रेबाट एक जना अधिकृतलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले झुट्टा विवरण पेस गरी नागरिकता लिएको विषयमा अनुसन्धानका क्रममा काभ्रेबाट एक जना अधिकृतलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार झुट्टा विवरणका आधारमा नागरिकता जारी गरेको भन्दै नागरिकता जारी गर्ने अधिकारी झपेन्द्रराज खरेललाई पक्राउ गरिएको हो ।
खरेल हाल मेलम्ची नगरपालिकामा प्रशासकीय अधिकृत (आठौँ तह) को रूपमा कार्यरत थिए । उपचारको लागि भारत गएको सूचनाको आधारमा खोजतलासका क्रममा उनलाई काभ्रेबाट पक्राउ गरिएको हो । पक्राउ परेका खरेलमाथि जिल्ला प्रशासन कार्यालय काभ्रेसँग समन्वय गरी अन्य झुट्टा विवरण पेस गरी नागरिकता जारी भएकोमा निजको संलग्नता सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जको जाहेरी अनुसार बादी नेपाल सरकार प्रतिवादी बेल्जियम नागरिक दावा छिरिङले (नेपाली नाम निमा तामाङ) भएको झुट्टा विवरण पेस गरी नागरिकता लिएको नागरिकता प्रमाण पत्र नम्बर ३०–०१–७४–११८६८ खरेलले जारी गरेको प्रवक्ता श्रेष्ठले बताए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी राजु गुरुङ भएको झुट्टा विवरण पेस गरी दोहोरो नागरिकता र राहदानी लिएकोको २०७४ मंसिर १३ मा नागरिकता प्रमाणपत्र नम्बर ३०–०१–७४–१०९७७ जारी गरेका थिए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी कुलानन्द भण्डारी भएको झूटा विवरण पेस गरी दोहोरो नागरिकता लिएकोको २०७४ पुस २० मा नागरिकता प्रमाणपत्र नम्बर ३०–०१–७४–०८००४ जारी गरेका थिए ।



















