राजविराज । प्रतिनिधिसभा सदस्य (सांसद) मन्जु अन्सारीको निधन भएको छ। विहान करिव ८ वजे उनको निधन भएको हो। जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद रहेकी उनको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको पार्टीका नेता दिनेश यादवले जानकारी दिए ।
जनता समाजवादी पार्टीको तर्फबाट तत्कालीन समानुपातिक सांसद सहनाज रहमानको हृदयघातकै कारण १३ फागुन २०७९ निधन भएपछि रिक्त स्थानमा मन्जु सांसद वनेकी थिईन । पार्टीको सिफारिसमा मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहेकी अन्सारी ६ चैत ०७९ मा प्रतिनिधिसभा सदस्य चुनिएकी थिइन् ।
उनी सप्तरीको राजविराज नगरपालिका– ४ निवासी राजविराज नगरपालिकाका पूर्वमेयर अनिस अन्सारीकी कान्छी श्रीमती हुन । तर, उनीहरुको बीचमा हाल सम्बन्ध विग्रिएको स्थानीयहरु वताउँछन् । पछिल्लो समय राजनीतिक रुपमा पनि उनीहरु दुई पार्टीमा थिए ।
अनिस अन्सारी सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य छन् भने मन्जु जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् । १९ माघ ०२० मा जन्मिएकी अन्सारीले सद्भावना पार्टीमा आबद्ध भई ०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरु गरेकी थिईन ।
०४६ सालदेखि २०५६ सम्म उनी उपत्यका महिला इन्चार्जको जिम्मेवारीमा समेत थिईन। परिवारमा कलह वढेपछि उनले ५/६ वर्ष अगाडी स्टोभको मटितेल खन्याएर आगो लगाई आत्महत्याको प्रयास पनि गरेको उनी निकटकाहरुले वताएका छन्। काठमाण्डौमा करिव २ महिना अस्पतालमा राखेर उनलाई उपचार गरिएको थियो। त्यसै वेलादेखि उनी काठमाडौं वस्दै आएकी थिईन। शान्तिनगरमा उनले छात्राबास संचालन गरेकी छिन्।



















