प्रेम प्रस्ताव अस्वीकार गरेकाे कारण सुस्माको हत्या (भिडियो)

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न त्यही गाउँका २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको छ ।

बुढानिलकण्ठ मा.विमा कक्षा ११ मा अध्ययनरत तारेभिरकै स्थानीय रहेकी सुस्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी थिइन् । उनको परिवारले उनी हराएको भन्दै खोजी गरिदिन बौद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही क्रममा गत फागुन २५ गते प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा १८ वर्षीया लामाको शव फेला पारेको थियो ।

उनको शव गाडिएको अवस्थामा जंगलमा गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै प्रहरीले उनको शव डोरीले बाँधेको अवस्थामा फेला परेको थियो । प्रहरीले उनको हत्या भएको हुन सक्ने आंशकामा अनुसन्धान सुरु गरेको थियो ।

सुस्माको हत्या एकतर्फी प्रेमका कारण भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार रुपेन्द्रले ८ महिनादेखि सुस्मालाई एकतर्फी प्रेम गर्ने गरेको पाइएको छ । आरोपीले मृतक सुस्मालाई पटकपटक प्रेम प्रस्ताव राखेको र अस्वीकार भएपछि हत्या योजना बनाएको प्रहरीले जनाएको छ । हत्या गर्नुभन्दा ८ दिन पहिलेदेखि उनले बाटोमा ढुकेर बसेको र खाल्डो खन्नका लागि ४ दिनदेखि कोदालो पनि लगेको खुलेको छ।

माघ २४ गते घटनाको दिन सुष्मा कलेज जाँदै गर्दा बाटो छेकेर रुपेन्द्रले प्रेम प्रस्ताव गरेका थिए। तर सुष्माले इन्कार गरेपछि पछाडिबाट घाँटी थिची अचेत बनाएर पुर्न पहिलै यकिन गरेका स्थानमा लगेर टाइ र जुत्ताको तुनाले कसेर हत्या गरेका थिए। हात पनि पेटीले बाँधेका थिए। हत्यापछि उनले कुटोले खाल्डो खनेर पुरेका थिए। त्यसपछि मृतकको मोबाइल र पुस्तक भने उनले लिएर गएका थिए।

२०८० माघ २३ गते गुगलबाट अर्कै बेहुला बेहुलीको फोटो डाउनलोड गरेर सम्पादन गरी सुष्माको फेसबुकमा सरी सबैलाई म ३ दिनपछि आउछु लेखेर पोष्ट गरेपछि फेसबुक डिएक्टिभ गरिएको थियो। रुपेशले आफ्नो मोवाइलबाट माघ २६ गते मृतकको दिदीको फोन नम्बरमा म्यासेज गरेका थिए, ‘किन के को पुलिस रिपोर्ट गरेको म ३ दिनमा आउँछु भन्दाभन्दै कस्तो मान्छेहरु रहेछ अब आउँछु भन्ठानिरा होला, अब बाच्चा पनि भइसक्यो होला हामीलाई जेलमा हालेर के पाउँछ अब त टाढा गएर बस्ने हो, कसैले केहिको पनि चिन्ता लिनु पर्दैन हाम्रो’ भनेर उल्लेख गरिएको थियो।

त्यति म्यासेज गरेर रुपेशले आफ्नो मोवाइल बन्द गरेका थिए। तर घटना भएको एक महिनापछि फागुन २४ गते साढे ४ बजेतिर तारेभीरको शिवपुरी राष्ट्रिय निकुन्जको जंगलमा दुईवटा हात मात्रै देखिएको शरीरको भाग पुरिएको अवस्थामा फेला परेको थियो। खोतलेपछि उक्त शव सुष्माको भएको खुलेको थियो। शवको पहिचान भएसँगै अनुसन्धानका लागि खटिएको प्रहरीले रुपेन्द्रलाई पक्राउ गर्न सफल भएको हो। उनलाई कर्तव्य ज्यानको कसुरमा कारबाहीका लागि प्रहरी बृत्त बौद्धमा पठाउने तयारी गरेको छ।

हेर्नुस् भिडियो :- 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस