मंगलबार, बैशाख ०८, २०८३
‘अप्रिल फूल’ : यसरी सुरु भयो मूर्ख बनाउने चलन

आज १ अप्रिल । यस दिनलाई मूर्ख बनाउने दिनका रुपमा विश्वभर मनाइन्छ । आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् । तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज रिसाउने मान्छे कमै हुन्छन् ।

मुर्ख दिवसको प्रारम्भ कहिले र कसरी भयो ? यस बारेमा विभिन्न विचार सुनिन्छन् । प्रायः मानिसको धारणा मुर्ख दिवसको जन्म स्थान फ्रान्स हो भन्ने रहेको छ । किन थालियो त यस्तो परम्परा ? एक किंवदन्ती अनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । सन् १५८२ मा पोप ग्रेगोरी १३ औंले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर सार्वजनिक गरे । यसबारेमा फ्रान्सको एक लोककथामा प्रामाणिक तथ्य फेला नपरे पनि जनश्रुतिलाई दृष्टिगत गर्दा तत्कालीन फ्रान्सका राजा चाल्र्स नवौंले सन् १५८२ देखि अप्रिल महिनाको पहिलो तारिखलाई अप्रिल फुल अर्थात एकले अर्कोलाई मुर्ख बन्ने र बनाउने कार्यको थालनी भएकोसुन्नमा आएको पाइन्छ ।

त्यतिबेला सम्राटले ग्रिगेरीयन क्यालेण्डर अनुसार नयाँ वर्ष मार्च २५ तारिखका दिन सुरु हुने कुराको घोषणा गरेका थिए। त्यसभन्दा पहिलो अप्रिल १ तारिखका दिन नयाँ वर्ष सुरु हुने परम्परा रहँदै आएको थियो। उनले यसै दिनदेखि नयाँ क्यालेन्डरलाई अपनाउने आदेश पनि दिएका थिए । नयाँ क्यालेण्डरमा आजको जस्तै जनवरी एकलाई वर्षको प्रथम दिन मानिन्थ्यो । कतिपय मानिसले त्यस प्रकारको नयाँ क्यालेन्डरलाई अपनाए तर केही यस्ता मानिस थिए जसले त्यो नयाँ क्यालेन्डरलाई अस्वीकार पनि गरे ।

यस्ता मानिसलाई मुर्ख ठानेर नयाँ क्यालेन्डर अपनाउने मानिसले पहिलो अप्रिलको दिन विचित्रको ठठ्ठा, उपहास एवं हाँसो गर्दै झुटो उपहार पनि दिन सुरु गरे । त्यसै बेलादेखि नै मानिसहरूले अप्रिल एक तारिखलाई मुर्खहरूको दिन वा “फुल्स डे” को रूपमा मनाउन लागे । अप्रिल एक तारिखका दिनमा आफ्ना छिमेकी साथी, दाजुभाइहरूसँग बडो बिचित्र प्रकारको ठठ्ठा हाँसो मात्र होइन मुर्खतापूर्ण र झुक्याउने कार्य समेत गरिन्छ । सोह्रौं शताब्दीमा यो दिवस पर्वको रूपमा मनाउन थालियो ।

यस दिनमा प्रत्येक घरमा एक दिनका लागि मालिक र नोकरको पद साटा–साट गरिन्थ्यो । त्यस दिन मालिकले नोकरको सबै काम गर्नुपथ्र्यो र नोकरले मालिक झैं हुकुम चलाई बस्नुपथ्र्यो । उक्त दिन मालिकको धेरै पैसा खर्च हुने गर्दथ्यो । सत्रौं शताब्दीको प्रारम्भमा कयौं देशमा पहिलो अप्रिलको दिन हाँस्य व्यंग्यात्मक नाटक देखाइन्थ्यो ।

अप्रिल फुल दिवसलाई हिजोआज मूर्ख दिवस पनि भनिन्छ । मनाउने परम्परा सामान्य नै लागे पनि यसले व्यापकता पाएको छ । हिजोआज अप्रिल १ लाई गलत रुपमा व्याख्या गरिने गरिएको छ । जसले गर्दा अप्रिल १ को बदनाम पनि हुने गरेको छ । कुनै अतिआवश्यक कुरामा पनि हाँसि मजाक गर्ने गरिंदा मानिसहरु तनावमा पर्ने गरेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय