सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको करिब २८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा–३ का कमर राजा र सोही ठाउँका आरिफ शेख रहेका छन् ।
प्रहरीले उनीहरुलाई सर्लाही सदरमुकाम मलंगवाबाट पक्राउ गरेको हो । १० लाखसहित पक्राउ परेकाको बयानका आधारमा प्रहरीले थप करिब १८ लाख रुपैयाँसहित अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको छ ।
कालो रङको झोला पिठ्युँमा बोकी हिँडिरहेका राजालाई प्रहरीले शंका लागेर जाँच गर्दा उनको साथबाट १ हजार दरको हजार थान गरी जम्मा १० लाख नगद बरामद गरेको थियो ।
पक्राउ परेका राजालाई रकमको स्रोत खुलाउन भनेपछि उनले सोही ठाउँका आरिफ शेखले सञ्चालन गरेको सिटी मोबाइल सेन्टरबाट ल्याएको भनेपछि प्रहरी मोबाइल सेन्टरमा पुगेका थिए ।
सो पसलको कानुन बमोजिम खानतलासी गर्दा र्याक भित्र राखिएको खैरो रङको कपडाको झोला भित्र १ हजार दरको १ हजार ४ सय ५४ थान, ५ सय दरको ६ सय २२ थान, १ सयको १ सय ९ थान, ५० र २० को एक–एक थान गरि थप १७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
कुल २७ लाख ७५ हजार ९ सय ७० रुपैयाँको स्रोत नखुलेपछि रकमसहित दुई जनालई नियन्त्रणमा लिइएको छ। स्रोत नखुलेको रकमसहित पक्राउ परेकाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



















