हतियारसहित आएको थियो बुद्धचित्तको रुख काट्ने समूह (भिडियो)
काभ्रे । गत चैत २९ गते राति काभ्रेको रोशी गाउँपालिका-५ नागबेलीमा हो-हल्ला गर्दै शेरबहादुर तामाङको घरमा राति १ बजे एक समूह आइपुग्यो । समूहमा १५/२० जना थिए । बन्दुक लगायत हतियारसहित आएको समूह तामाङको घरभित्र पसेन, घर नजिकैको रूखतिर लाग्यो। केहीबेरमा उनीहरूले रूखमा आरो चलाए। त्यो रूख बहुमूल्य बुद्धचित्त (बोधिचित्त) को थियो ।
यो गाउँमा केही वर्षदेखि बुद्धचित्त खेती गरिएको छ। तीमध्ये तीन/चार वटा रूखमा फल्ने बुद्धचित्तका दाना धेरै मूल्यमा बिक्री हुँदै आएको थियो। ‘त्यो गाउँमा लगाइएकामध्ये तीन/चार वटा रूखको बुद्धचित्त महँगोमा बिक्री हुन्छ। तीमध्ये सबैभन्दा राम्रो फल्ने र बढी मूल्य आउने रूख शेरबहादुर तामाङको बारीको हो, त्यही रूख गए राति काटिदिएछन्,’ गाउँपालिका अध्यक्ष दिनेश लामाले भने।
उनका अनुसार व्यापारीहरूले बुद्धचित्तका दाना हेरेर र कति मुखे फल्छ यकिन गरेर मूल्य निर्धारण गर्छन्। यसको मुख्य बजार चीन हो। बुद्धचित्तको दानाबाट जप गर्ने माला बनाइन्छ।
बुद्धचित्तका रूखधनी शेरबहादुर तामाङ गए राति घरमा थिएनन्। उनी काठमाडौंको स्वयम्भूमा थिए। घरमा उनका श्रीमती र छोराछोरी थिए। हो-हल्ला गर्दै आएको समूहले बारीको रूखमा आरो चलाएको उनीहरूले सुने, बाहिर निस्केर प्रतिकार गर्न डराए। उनीहरूलाई घर बाहिर निस्किए ‘मारिदिने’ धम्की उक्त समूहले दिएको थियो।
बुद्धचित्तको रूख ढालेर उनीहरू गएपछि परिवारले शेरबहादुरलाई फोन गरेर घटनाबारे जानकारी दिए। राति नै शेरबहादुर काठमाडौंबाट काभ्रेस्थित घर गएका थिए।
हेर्नुस् सिसिटिभीको Exclusive भिडियो)